Logo

केपी ओलीप्रति माधव नेपालको आक्रोश : ‘फूर्ति नलगाए हुन्छ, हामी सहेर बस्दैनौं’ (भिडिओसहित)



काठमाडौं, १ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपालले आज नयाँ वर्ष २०७८ भएकोले आज कसैलाई गाली गर्नु वा कुभलो चितउन नहुने धारणा राखेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी ओली को हो ? आफूलाई माफी दिने भन्दै कडा टिप्पणीसमेत गरेका छन् । उनले भनेका छन्-“उहाँ को हो मलाई माफी दिने ? उहाँको माफी पनि चाहिएको छैन् । उहाँले ईतिहासबाट माफी माग्नुपर्छ । म एउटा मान्यतामा विश्वास गर्छु । नबिराउनु, नडराउनु । म त कहिल्यैपनि फायर खोल्न चाहन्नँ । मैले पार्टीको हितबाहेक अरु अहित चिताउने कुरै आउँदैन् । पार्टी र आन्दोलनलाई चलाउन प्रतिबद्ध छु ।”

उनले एमालेलाई विभाजित गर्न खोज्नेहरुले विभाजित गरिसकेको पनि टिप्पणी गरे । उनले अध्यक्ष ओलीले विधानले व्यवस्था नगरेपनि मनपरी रुपमा केन्द्रीय सदस्य नियुक्त गरेको पनि आरोप लगाए । उनले ओलीले देखाएको नांगो नृत्य कोही सहेर नबस्ने पनि चेतावनी दिए । उनले एमाले कसैको निजी पेवा नभएको पनि स्पष्ट पारे । उनले एमालेको विउ रोप्ने काम आफूहरुले गरेको दाबी गरे ।

उनले आफूभन्दा १४ वर्षपछि ओली पोलिब्युरो बनेको भन्दै फूर्ती नलगाए हुन्छ भन्ने चेतावनी दिए । उनले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागी नहुने पनि स्पष्ट पारे । उनले फागुन २३ गते गरेको निर्णय फिर्ता लिनुपर्ने पनि अडान राखे । अन्यथा ओलीसँग कुनै सहकार्य नहुने पनि उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्