Logo

शुक्लाफाँटा आधुनिक योगा भवन निर्माण हुँदै



कञ्चनपुर, १ बैशाख । शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा आधुनिक शैलीको योग भवन निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको लगानीमा सिद्धबैजनाथ वृद्ध मिलन केन्द्र तथा योग भवन निर्माणको कार्य शुरु गरिएको हो ।

एकैसाथ १०० जनाभन्दा बढीले योग गर्न मिल्ने भवन निर्माणका लागि कार्य अगाडि बढाइएको छ । भवनमा योगा हलसहित कार्यालय कक्ष, शौचालय, स्नानघर निर्माणको कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दीपक धामीले बताए । नगरपालिकाले योग भवन निर्माणका लागि रु १० लाख रकम खर्च गरी फाउन्डेसनको कार्य पूरा गरेको छ । आगामी आवमा भवन निर्माणका लागि थप बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउने योजना अघि सारिएको छ ।

योगा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु ६० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । भवन निर्माणका लागि स्थानीयवासीले तीन कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निर्माण कार्य शुरु भएको योगा भवनको अवलोकन गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले स्वस्थ समाज निर्माणका लागि नगरपालिकाले कार्य अगाडि बढाएको बताए । भवन निर्माण पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासीले योगाबाट लाभ लिन सक्ने बताए ।

यसैगरी सोही स्थान नजिकै जोडिएको सिद्धनाथ मन्दिर नजिकै नगरपालिकाकै रु पाँच लाखको लगानीमा सत्सङ्ग भवन निर्माण गरिएको छ । भक्तजनलाई भजनकीर्तनसँगै सत्सङ्गका कार्यक्रम सञ्चालन गर्नका लागि भवन निर्माण गरिएको हो । मन्दिरकै संरक्षणमा रहेको प्राकृतिक तालको संरक्षण गर्नका लागि नगरपालिकाले योजना बनाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । “तालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको छ”, स्थानीयवासी केदारी रानाले भने, “यसको संरक्षणका लागि नगरपालिकाले चासो दिनुपर्ने देखिन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्