Logo

अझै सञ्चालनमा आएन दार्चुलाको आइसीयू



दार्चुला, २ चैत्र । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गरेका थिए ।

कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो । पाँच महिनाअघि नै जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले जानकारी दिए । अहिले आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।

“आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने । गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।

आइसीयू कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्दछ । “विशेषज्ञ चिकित्सक अभावमा हामीले आइसीयू सञ्चालनमा ल्याउन सकेका छैनौ । अहिले अस्पतालमा रहेका चार चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ।”उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot