Logo

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ



खोटाङ, २ बैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएका छन् । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आएको हो ।

साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आएका गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेषगरी पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो”, उनले भने, “छलफलका क्रममा निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको छ ।”

स्वीस राजदूत एलिजावेथलाई गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्कालगायतले स्वागत गरेका थिए । गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको भेटघाटका क्रममा राजदूत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रक्रियाका बारेमा समेत छलफल भएको गाउँपालिका प्रमुख भङ्कारले बताए ।

मुन्धुम ट्रेलका लागि निर्माणाधीन पूर्वाधार विकासका गतिविधि अवलोकन गर्दै मङ्गलबार साकेला गाउँपालिका आइपुगेको राजदूत एलिजावेथको टोली तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवा भञ्ज्याङतर्फ गएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थल चखेवा भञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

साकेला गाउँपालिकाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा मुन्धुम ट्रेलको काम भइरहेको जनाइएको छ । त्रिपक्षीय सम्झौताका आधारमा निर्माण शुरु गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा परेको छ ।

यस वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत पूर्वाधारको काम भइरहेको छ । खोटाङ र भोजपुरको पर्यटन विकासमा मुन्धुम ट्रेलले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताएका छन् ।

पदमार्गको यात्रा गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली श्रृङ्खला अवलोकन गर्न सकिने जनाइएको छ । ठूल्ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौँरीखर्कहरु तथा भेडीगोठको बीचबाट डाँडाको शिरैशिर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्