Logo

उपकरण उपलब्ध भएपनि जनशक्ति छैन



मनाङ, २ बैशाख । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ । हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । विसं २०७७ असारमा प्रदेश सरकारले यस अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा प्रतिभा गौली र डा सन्तोष अधिकारी कार्यरत छन् । “कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन”, डा अधिकारीले भने, “भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।” त्यस्तै डा प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै रु २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएर गएका हुन् । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उनको भनाइ छ ।

भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।

अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा प्रतिभा गौली, डा सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।

दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ । यस्तै तीतो अनुभव डा सन्तोष अधिकारीको छ । रासस



प्रतिक्रिया दिनुहोस्