Logo

एमालेलाई फुटबाट रोक्न विष्णु पौडेल र सुवास नेम्वाङ सहमतिको सूत्रसहित सक्रिय



काठमाडौं, २ वैशाख । नेकपा एमालेलाई फुटबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई प्रभावशाली नेता सक्रिय भएका छन् । अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सक्रिय भएका हुन् ।

पौडेल र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरुसँग अनौपचारिक कुराकानी बढाएका छन् । उनीहरुले सहमतिको बिन्दु तयार पार्ने विषयमा छलफल बढाएका छन् ।

नेकपा एमालेलाई नेकपा बन्दाको ठिक अगाडि २ जेठ २०७५ को अवस्थामा रहने गरी सहमतिमा लानेबारे छलफल बढाइएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूरा कार्यकाल सरकारमा रहने गरी साथ दिने विषय शर्त राखिएको छ ।

माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गरी बढ्दै गर्दा एमाले फुटको घोषणा हुन मात्र बाँकी छ । फुट नगरिहाल्न पौडेल र नेम्वाङले आग्रह गरेको बुझिएको छ । केही समय पर्खन भन्दै पार्टी एकतावद्ध बनाउने सूत्रबारे छलफल बढाएका छन् ।

ओली पक्षले माधव नेपाल पक्षमाथि कारबाही गर्दै आएको छ । नेपाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ । यसैगरी, उनी निकटस्थ भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बनमा परेका छन् । नेपाल पक्षले सहमतिका लागि निलम्बनको निर्णय फिर्ता देखि २ जेठ २०७५ को अवस्थामा पार्टीको सबै संरचना कायम गर्नुपर्ने शर्त राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्