भक्तपुर, बैशाख ३ । भक्तपुरको बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेको जिब्रो छेड्ने जात्रामा बिहीबार बुद्धकृष्ण बाग श्रेष्ठले ८औं पटक आफ्नो जिब्रो छेडाएका छन्। मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिने गरिन्छ ।
बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ । जिब्रो छेड्ने व्यक्तिले चैत मसान्तको दिन बोडेको महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार व्रत बसेर नयाँ वर्षको भोलिपल्ट अर्थात् वैशाख २ गते कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा १० इन्च लामो सुइरोले हजारौं मानिसको अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
जिब्रो छेड्ने सुइरो प्रधान नाइकेले एक महिना अघिदेखि तेलमा डुबाइराखेको हुन्छ । महालक्ष्मी मन्दिरमा परिक्रमा समापन गरेपछि जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ र ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्विप बोकेर टोल–टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि या जिब्रो छेड्ने जात्रा सम्पन्न हुन्छ । नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया