Logo

प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप



काठमाडौं, ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रिय हितविपरित देशलाई बन्धकी राखेको आरोप लगाएका छन् । उनले ओलीमाथि नेपाली जनताको इज्जत प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि प्रश्न उठाउने कार्य गरेको आरोप समेत लगाए ।

‘हिजोआज देशलाई बन्धकी राख्ने राष्ट्रिय हित विपरित गतिविधि गर्ने काममा स्वयं सरकारको नेतृत्व गर्ने प्रमुखहरुबाट भएको छ,’ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको आज राजधानीमा आयोजित उदघाटन समारोहमा बोल्ने क्रममा प्रचण्डले ओलीतर्फ संकेत गर्दै भने, ‘नेपाल र नेपाली जनताको इज्जतप्रतिष्ठा आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस भएको छ ।’

गत वर्ष नेपाल भ्रमणमा आएका रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले चार बुँदै सम्झौता गरेको खबरहरु विभिन्न सञ्चारमाध्यममा आइरहेको विषयतर्फ संकेत गर्दै प्रचण्डले ओलीको कडा आलोचना गरे ।

नेपाली जनताले कुनै हालतमा आत्मसम्मानमाथि प्रश्न उठ्ने गरी दुस्साहस गर्नेहरुलाई माफी नदिने समेत प्रचण्डको भनाई थियो । उनले परिवर्तनमाथि षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने बताए ।



प्रतिक्रिया दिनुहोस्