Logo

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण



काठमाडौं, ३ बैशाख । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गर्नुभएको थियो । शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो । चैत मसान्तसम्म परीक्षणका रुपमा साढे आठ करोड लिटर पानी वितरण गरिएको थियो ।

यही वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरु गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिए । अब केही दिनमा १४, १५।५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै वैशाख ५ गतेसम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ ।

हाल सुन्दरीजलका पानी दुवै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पु¥याई वितरण शुरु भएको छ ।

मेलम्ची खोलाबाट पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पु¥याएर परीक्षणका रुपमा वितरण गरिनेछ । सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ । यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ । पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र एक हजार १०० किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ ।

मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ । अनामनगरका ५०० धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करीब ८० हजार नयाँ धारा जडान गरिएको छ । सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको उहाँले जानकारी दिए ।

नयाँ धारा जोडिएको स्थानलाई १६२ क्षेत्रमा विभाजन गरिएको छ । यसरी विभाजन गरिएको क्षेत्रलाई ‘सब डिएमए’ नामकरण गरिएको छ । एउटा ‘सब डिएमए’ मा ५०० देखि ७०० सम्म धारा छन् । हाल नयाँ वितरण प्रणालीबाट पानी दिइएको अनामनगर क्षेत्र ‘सब डिएमए’ ४।२।१ मा पर्ने लिमिटेडले जनाएको छ । यो १६२ वटै ‘सब डिएमए’ चक्रपथभित्र पर्छ । यी सबै क्षेत्रमा नयाँ वितरण प्रणालीबाट पानी दिन लिमिटेडले काम गरिरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो ।

यो क्षेत्रमा मेलम्चीको पाँचदेखि १० प्रतिशत पानी प्रयोग गरी ‘लिकेज टेस्ट’, ‘फ्लसिङ’, ‘सट रन टेस्ट’ र ‘डिस्इन्फेक्शन’ भइरहेको छ । परीक्षणको यो प्रक्रिया पूरा गरेपछि मात्र धारामा नयाँ मिटर जडान गरिन्छ । त्यसपछिदेखि नियमित रुपमा धारामा पानी आउँछ । यसका लागि आठ महिनासम्म लाग्ने आयोजनाको अनुमान छ । रासस



प्रतिक्रिया दिनुहोस्