Logo

पनौतीमा १२ वर्षे ‘मकर मेला’



काठमाडौं, ३ बैशाख । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो । मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ ।

बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन् । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । उक्त स्थानमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना अघि सारेको छ । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पूण्य मिल्ने धार्मिक आस्था छ ।

एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ । नगरले निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी यथाशक्य सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए।

न्यौपानेका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्यमाता करिडोर) ले निकै राहत दिलाउनेछ । “पनौती आउने विभिन्न सडकलाई मर्मतसम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुने अपेक्षा गरेका छौँ”, न्यौपानेले भन्नुभयो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

मेला सम्पन्न गर्न नगरप्रमुखको उपस्थितिमा हालै एक दर्जन उपभोक्ता समिति गठन गरिएका छन् । ती समितिले यसै वर्ष आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिङ्गार्नुपर्ने जिम्मेवारी दिइएको छ । यसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङ्गरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइने मुख्य काम हो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वार निर्माण गर्नुपर्नेछ । यीसहित भौतिक निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै नगरले रु तीन करोडभन्दा माथि बजेट छुट्याइएको नगरप्रमुख न्यौपानेले बताए । रासस



प्रतिक्रिया दिनुहोस्