Logo

‘विश्व सम्पदा’मा सूचीकृत हुँदै पनौती



पनौती, ३ बैशाख । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय ९युनेस्को०द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको समेत नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका छन्। अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

“हामी बाह्रवर्षे मकर मेला (२०७८ माघ) अगावै विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ”, नगरप्रमुख भीम न्यौपानेले भने । उहाँका अनुसार नगरले चालू आर्थिक वर्षमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पु¥याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए । उनले “मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा यूनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।”

सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । उनका अनुसार नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालीम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने जस्तै, वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्यौलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताए। पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ । पनौती नपाको वडा नं ५, ६ र ७ नंवरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्