Logo

कर्णाली प्रदेशमा होला त फ्लोर क्रस ?



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा आज मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनुपर्नेछ । अहिले प्रदेशसभा बैठक चलिरहेको छ । बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका छन् ।

विश्वासको मत लिन २१ मत आवश्यक छ । तर, शाहीको दल नेकपा माओवादी केन्द्रसँग १२ मत छ । नेपाली काँगेसको ६ मत प्राप्त गर्दा १८ पुग्छ । बाँकी ३ मत पाउन राप्रपाको पनि साथ हुनुपर्छ । तर, राप्रपा तटस्थ रहने भएको छ ।

नेकपा एमालेको २० मत छ । एमालेबाट फ्लोर क्रस भएमा मात्र शाहीले विश्वासको मत पाउन सक्छन् । फ्लोर क्रसको चर्चा पनि छ ।

नेकपा एमालेभित्रको विवाद कुन हदमा पुग्यो भन्ने आज कर्णाली प्रदेशमा विश्वासको मत लिन खोज्दा हुने मतदानबाट थाहा हुने भएको छ । यसलाई एमाले विवादको लिट्मस टेष्टका रुपमा पनि हेरिएको छ ।

कर्णाली प्रदेशका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस नहुने दाबी गरे । उनले सबै एकमत भएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताए । प्रदेशसभा बैठकमा बोल्दै उनले गलत हल्ला फिजाइएको बताए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्