Logo

रैथाने ज्ञानलाई आदर गरौं



डा. अरुणा उप्रेती :  प्राचीन कालमा एक जना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भनेछन्, ‘तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ, जसको कुनै औषधीय महत्व छैन ।’ सबै विद्यार्थीहरू जंगलमा गएर खोज्न थालेछन् । एक महिनापछि प्रायः विद्यार्थी हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्केछन् र गुरुजीलाई भनेछन्, ‘यी वनस्पतिको कुनै औषधीय महत्व छैन ।’

एक जना विद्यार्थीचाहिँ झण्डै ५ दिन ढिला फर्केर भनेछन्, ‘गुरुजी ! म त वनस्पति खोज्दा खोज्दा हैरान भएँ, तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।’ गुरुजीले प्रसन्न भएर भनेछन्, ‘तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।’

यो कथाबाट मैले सिकेको पाठ हो, ‘संसारमा कुनै न कुनै औषधीय गुण नभएको वनस्पति हुँदैन ।’ हामीले हेर्न मात्र जान्नुपर्छ । यो कथा नै भए पनि यसमा धेरै सत्यता छ ।

करी पत्ताः करी पत्ता (मीठो नीम) श्रीलंका र दक्षिण भारतीय भोजनमा अत्यावश्यक वस्तु मानिन्छ । करी पत्ताले खानालाई स्वाद दिने मात्र होइन कि पौष्टिक पनि । मेरो दैनिक जीवनको खानपिनमा नछुट्ने एउटा वनस्पति हो, करी पत्ता । यसलाई कति जनाले मीठा नीम पनि भन्छन् । शायद नीम पत्ताको औषधीजन्य गुण हुने तर तितो नभएकाले यसलाई मीठो नीम भनेको हो कि ?

मैले मीठा नीमको उपयोगिताबारे थाहा पाएको चाहिँ सन् २००६ मा श्रीलंका बसाइमा हो । म त्यहाँ जनस्वास्थ्य विशेषज्ञ भएर एक वर्ष बसेँ । त्यो बेलामा नै मैले करी पत्ताबारे थाहा पाएँ ।

श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गर्दा रहेछन् । पहिले पहिले त मैले तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । एक दिन सँगै खान बसेकी नर्सले मैले करी पत्ता फ्याँलेको देखेर छक्क परिन् र भनिन्, ‘यो त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्र्ण नै हुँदैन । हामी यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम (दाल) मा त यो नभई हुँदैन । यसमा रहेका तत्वहरुले रगत बढाउँछ, मधुमेह भएकाहरुलाई पनि उपयोगी हुन्छ । यो त भिटामिन ‘ए’ को भण्डार नै हो, अनि किन तिमीले फ्याँलेको ? तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।’

नर्सको कुरा सुनेर मैले अर्को प्लेटमा राखेको पत्ता चपाएँ ।

११ वर्षअघिको यो संवादपछि मैले करी पत्तालाई दैनिक जीवनको अंग नै बनाएकी छु । घरमा दुइवटा करी पत्ताका बोटबाट टिपेर प्रत्येक दिन २–४ पत्ता चपाउँछु । तरकारी बनाउँदा पत्ता हाल्छु नै । पिसेको अचार बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि पिस्छु । लामो समयका लागि घर बाहिर जाँदा सुकाएको करी पत्ता सँगै लैजान्छु र चपाएर वा धुलो बनाएर तरकारी दालमा हाल्छु ।

करी पत्ताको बोट सजिलै उम्रने हुनाले साथीभाइहरुलाई घरमा उमार्न करी पत्ताको पाकेको दाना वा सानो विरुवा उपहार पनि दिन्छु । मलार्ई श्रीलंकाकी नर्सले सिकाएको कुरा अरुलाई पनि भन्छु । किन करी पत्तालाई मीठा नीमसँग तुलना गरिएका होला भनेर यसको बारेमा केही बढी जानकारी लिँदा थाहा भयो कि करी पत्ता त पोषणको भण्डार नै रहेछ । यसमा रेशादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन-ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा गर्भवती र सुत्केरीका लागि अति जरुरी हुन्छ । फोलिक एसिडको प्रयोगले भु्रणलाई स्वस्थ पार्छ र मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट बच्न मदत गर्छ । नेपालमा यस्ता समस्या भएका शिशुहरु कति जन्मिन्छन् भन्ने अनुसन्धान त गरिएको छैन तर फोलिक एसिडयुक्त भोजन खान गाह्रो हुने गाउँका महिलाबाट जन्मिने शिशुहरुमा यो हुन सक्ने भन्ने कुरा विभिन्न अनुसन्धानले बताएका छन् ।

करी पत्ता तराईमा जताततै पाइन्छ तर कुनै पनि स्वास्थ्यकर्मीले गर्भवती करी पत्ता टिपेर तरकारीमा हालेर खानु भन्दैनन् होला र त्यहाँका स्वास्थ्यकर्मीलाई पनि करी पत्ताको उपयोगिताबारे शायद थाहा छैन । कतिले त शायद गाईवस्तुलाई दिने गरेका होलान्, किनभने करी पत्ता खाएपछि गाई र गोरुको स्वास्थ्य राम्रो हुन्छ भन्ने उनीहरुलाई थाहा छ । करी पत्ताबारे गरिएका विभिन्न अनुसन्धानले करी पत्ताले पाचन प्रणालीमा पनि मदत गर्ने देखाएको छ ।

अर्को अनुसन्धानले शरीरमा रहेको कोलेस्टेरोल नामक बोसोलाई कम गर्न मदत गर्ने कुरा देखाएको छ । त्यसको अर्थ हो, मुटुको रोगबाट बच्न पनि मदत गर्छ । दक्षिण भारतीय र श्रीलंकाको भोजनमा प्रयोग गरिनुको साथै इण्डोनेशियामा पनि मसलाको रुपमा यसको प्रयोग गरिन्छ । यसको उद्गम भारतको उत्तर प्रदेश हो तर हाल यो एशियाभरिमै फैलिएको छ । करी पत्ता भोजन मीठो बनाउन विभिन्न स्वास्थ्य समस्याको घरेलु समाधान गर्न र सौन्दर्य बढाउनका लागि पनि प्रयोग गरिन्छ । दक्षिण भारतका कतिपय गाउँमा त मेहन्दीसँग करि पत्तालाई पिसेर कपालमा लगाउने चलन रहेको छ । यसले गर्दा कपालमा चायाँ नरहने उनीहरुको विश्वास छ ।

पखाला लागेका बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ । यसमा रहेको रेशादार पदार्थले कब्जियत कम गराउन पनि मदत गर्छ ।

यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र वीरेनुन पनि हाल्न सकिन्छ । यसमा रहेको फोलिक एसिड र लौह तत्वलाई शरीरमा रगतको मात्र बढाउन र हड्डी बलियो बनाउन पनि मदत गर्छ । गर्भवती आमाले दिनमा ३–४ पटा हरियो पत्ता चपाए पनि फाइदा पुग्छ । संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न लागि नीम प्रयोग गरिएजस्तै करी पत्ता पनि प्रयोग गर्न सकिन्छ । गर्भवतीलाई हुने वाकवाकी मेट्न पनि यसले मदत गर्छ । यसको भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमै भिटामिन ‘ए’ को कमीले बालबालिका र गर्भवतीमा आँखा समस्या देखा पर्छ । भिटामिन ‘ए’ को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले कहिले पनि करी पत्ताको प्रयोग गर भनेर सिकाउने जमर्को गर्दैन । करी पत्तामा रहेका विभिन्न रसायन र साथै भिटामिन ‘ए’, भिटामिन ‘सी’ कलेजोलाई स्वास्थ्य राख्न पनि मदत गर्छन् भन्ने पनि अनुसन्धानले देखाएको छ । हाम्रा पुर्खाहरुलाई यसले फाइदा गर्छ भने थाहा थियो । तर उनीहरुले वैज्ञानिक अनुसन्धान गरेर पत्ता लगाएको होइन कि अनुभवहरुद्धारा कसरी करी पत्ता र नीम स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने थाहा पाएका थिए ।

गिठ्ठा र भ्याकुरः ‘चेपाङहरुले केही खान पाएनन्, भोकमरी भयो, त्यसैले उनीहरुले गिठ्ठा भ्याकुर, तरुल, सिस्नु, कालो निगुरो खाएर जीवन बिताउनु परेको छ । पौष्टिक खाना नपाउँदा उनीहरु कुपोषणको शिकार भएका छन् । त्यसैले सरकारले चामल लगेर दिनुपर्छ’ भन्ने भाषण जताततै सुनिन्छ । पत्रिकामा पनि छापिन्छ । तर नेपालमा भएको कृषि वैज्ञानिक, कृषि मन्त्रालय र कृषिमा काम गर्ने सरकारी कर्मचारीले शायदै भन्छन् कि चेपाङको खानाले कुपोषण गराउँदैन । चेपाङले खाने खानामा त मानव स्वास्थ्यलाई चाहिने सबै तत्व छन् । बरु हामीले त चेपाङले प्रयोग गर्ने खाना मासिँदै गएकोमा पो त चिन्ता जनाउनु पर्ने हो ।

केही दिन अघि एक जना साथी जर्मन पुगेर आएका थिए र उनले मलाई भने, ‘जर्मनमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पनि त्यो पाइन्छ कि पत्ता लगाएर हाम्रो बारीतिर पनि रोप्न पाए हुन्थ्यो ।’ उनको कुरा सुनेर म हाँसें । ‘तिमीलाई अंग्रेजी नाम भएको हुनाले बडो स्वस्थकर लागेछ । यो त हामीकहाँ चेपाङले दैनिक प्रयोग गर्ने गिठ्ठा पो हो ।’ उनी एकछिन त अकमक्क परे, ‘ए त्यस्तो पो रहेछ । किन त चेपाङहरुले खान पाउँदैनन् भनेर भनेको ?’ ‘किनभने हामीकहाँ नेपाल बाहिरका कृषि उपज मात्र राम्रो हुन्छ, भन्ठान्छन् । देशभित्रको वनस्पति कति पौष्टिक उत्तम छ, वास्ता नै गर्दैनन् ।’

वन जंगलमा खोजेर चेपाङहरुले गिठ्ठा प्रयोग गर्दा त्यसको तीतोपन हराओस् भनेर केही बेर उमाल्ने गर्छन् । त्यसपछि तरकारीजस्तै गरेर पकाएर खान्छन् । धेरै गिठ्ठा एकैचोटी जम्मा गरे भने चाहिँ छयाङ् पनि बनाउँछन् । संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छन् । पश्चिम अफ्रिकामा चाहिँ यसको अत्यधिक प्रयोग हुन्छ । त्यसैगरी यसको औषधीय गुण र पोषणकै कारण जापान र ब्रिटेनमा पनि लोकप्रिय छ ।

गिठ्ठा शक्तिको राम्रो स्रोत हो । यसमा काब्रोहाइड्रेट र रेशादार पदार्थ पनि पर्याप्त मात्रामा हुन्छ । यसको प्रयोगले कब्जियत कम गर्छ, कोलेस्ट्रोल पनि कम हुन्छ । साथै यसमा भिटामिनोबी र फोलिक एसिड पनि रहेको हुन्छ । गर्भवतीलाई फोलिक एसिड चाहिन्छ ता कि भ्रुणलाई विकलागंता नहोस् ।

यति मात्र होइन यसमा विभिन्न किसिमका सूक्ष्म पोषण जस्तोः म्याग्नेसियम, पोटासियम, लौह तत्व पनि रहेको हुन्छ । गिठ्ठाको प्रयोग संसारका झण्डै ६ करोड मानिसले दैनिक भोजनका रुपमा प्रयोग गर्छन् । नेपालमा गिठ्ठा अपहेलित छ तर यसको प्रयोग मानिसहरुको पोषण बढाउन प्रयोग गर्न सकिन्छ भन्ने कुरा ध्यान दिनैपर्छ ।

अहिलेसम्म त गिठ्ठा केवल जंगलबाट मात्र टिपेर खाने चलन छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने यसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ ।

नेपालमा अक्षय तृतीयामा सातु र शर्वत, यमरी पूर्णिमामा योमरी खाएजस्तै अफ्रिकामा त विशेष प्रकारको पर्व नै मनाइन्छ, गिठ्ठा खानका लागि । त्यहाँ गिठ्ठा पिठो बनाएर केकमा हालेर वा सुप बनाएर खाने चलन छ । जापानमा पनि गिठ्ठाको नुडल पनि बनाउने चलन छ । उनीहरुले दैनिक जीवनमा प्रयोग गर्ने गिठ्ठा हामीले अवहेलना किन गर्नु र ? चाइनामा गिठ्ठाबाट निस्कने रस जस्तो पदार्थलाई बाहिरी घाउ, पिलो आदिमा लगाएर निको पार्ने औषधि बनाइन्छ ।

नेपालको सन्दर्भमा त गिठ्ठा र भ्याकुरको आर्थिक र पोषण युक्त दुवै महत्व छ । सजिलैसँग जस्तो जमीनमा पनि फल्न सक्ने हुनाले यसको खेती सजिलै गर्न सकिन्छ । यसलाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिकता पनि बढ्न जान्छ । यसलाई व्यापारिक दृष्टिले उत्पादन गरेर पिठो, नुडल्स चिप आदि बनाएर आर्थिक रुपमा पनि उन्नति गर्न सकिन्छ । नेपालमा पाइने गिठ्ठामा केही तीतोपना छ । त्यो तीतोपना चाहिँ घरमा पकाउँदा, उमालेर, आगोमा पोलेर निकाल्न सकिन्छ । चेपाङहरुले प्रयोग गर्ने अर्को वनस्पति वन तरुल त माघे संक्रान्तिमा नभई हुँदैन र महँगोमा किनिन्छ । वन तरुलको त तरकारी बनाएर वा उसिनेर खानुपर्छ । पूर्वीय– एशियाका विभिन्न देशमा यो पाइन्छ ।

जुनेलोः जुनेलो पनि पौष्टिकताले भरिपूर्ण अन्न हो तर चेपाङहरुले ‘छ्याङ’ र ‘रक्सी’ बनाउनमा यसको बढी प्रयोग गर्छन् । शायद जुनेलोको महत्व बुझेर भोजनका रुपमा प्रयोग गर्ने हो भने चेपाङ बालबालिकामा कुपोषण कम हुन्थ्यो । चेपाङको भाषामा ‘ताउसी’ भनिने अमला पनि भिटामिन-सी युक्त फल हो । चेपाङहरुले प्रकृतिमा सहजै पाइने र जंगलमा गएर अमला टिपेर ल्याएर बेचेर र त्यसको सट्टामा चाउचाउ र बिस्कुट किनेर छोराछोरीलाई ख्वाउँछन् र कुपोषणको शिकार बनाउँछन् । यदि त्यो ठाउँमा अमलाको कति महत्व छ भनेर बुझाइयो भने शायद चेपाङले आफूले पर्याप्त प्रयोग गरेर बाँकी रहेको अमला मात्र बेच्थे कि ? त्रिफला, च्यवनप्रास आदि औषधिमा अमलाको मुख्य भाग हुन्छ भन्ने कुरा शायद उनीहरुलाई थाहा छैन कि ?

सिस्नुः सिस्नु पनि चेपाङहरु खान प्रयोग गर्छन् । भिटामीन ए, सी, डी र लौह तत्व, क्याल्सियमजस्ता सूक्ष्म पोषकतत्वले भरिपूर्ण सिस्नु अपहेलित त छ, नै, जताततै आफै फल्ने यो वनस्पति कसैलाई सजाय दिनुपर्ने भयो भने ‘सिस्नु खालास्, सिस्नु लगाऊँ, बदमासी गरिस्’ भन्ने चलन छ । तर ‘राम्रो काम गरिस् भने सिस्नु खान दिउँला’ भन्ने चलन गरे सायद सिस्नुको महत्व बढछ । पाँचतारे होटेलमा त एक ठूलो कचौरा सिस्नोको सुपको झण्डै रु ६०० पर्छ । चेपाङको भान्छामा पकाउदा त्यो अपहेलित हुनुपर्ने कारण नै छैन ।

कालो कर्कलोः कालो कर्कलो भन्ने शायद हामीहरुले कमै सुनेको हौउँला । यसलाई तरकारी बनाएर खान सकिन्छ । फल्ने समय पुस–माघ हो र जम्मा गरेर लामो समय सुरक्षित पनि राख्न सकिन्छ ।

कागुनोः कागुनोको नाम पनि त्यति सुनिंदैन । यसको पिठो र ढिँडो बनाउन सकिन्छ । आँटाको जस्तै विभिन्न परिकार पनि बनाउन सकिन्छ । तर यसको पौष्टिकताको उचित उपयोग गर्नुको साटो ‘जाँड’ बनाएर यसको दुरुपयोग गरिन्छ । अनि चेपाङहरुले खान पाएनन् भनेर खबर पढ्नुपर्छ ।

सिप्लिकानः सिप्लिकान (सिप्लिगान) को औषधीय महत्व छ भनेर चेपाङहरुले पनि विश्वास गर्छन् । चेपाङहरुले यसको पत्तालाई पानीमा उमालेर १०–१२ घन्टा त्यसै छाड्छन् र त्यो पानी फालेर पकाउँदा त्यसको तीतोपन पनि जान्छ । अनि तरकारी वा अचार बनाएर खान्छन् । रुघा, खोकी, ज्वरो आदिको घरेलु उपचार गर्न चेपाङले प्रयोग गर्छन् ।

कालो निगुरोः जंगली वनस्पति मन पराउनेहरुले कालो निगुरोको तरकारीको स्वाद धेरै मन पराउँछन् । नदीको किनार र जंगलबाट यो जम्मा गरिन्छ । चेपाङहरुले जा पास भन्ने गर्छन् । त्यसैगरी चेपाङहरुले प्रयोग गर्ने वन कुरिलो, पांग्रा, बयर आदि पनि पोषणका उत्तम स्रोत हुन । तर यिनीहरुले प्रयोग राम्रोसँग हुन नसकेर नै चेपाङहरुलाई भोकमरी भयो भन्ने खबर आउँछ ।

नीम, तीतेपाती, बेसार, अमलाजस्ता वस्तुहरू हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने वस्तुमध्ये पर्छन् । तिनलाई केवल खानाका लागि मात्र होइन, औषधिका दृष्टिकोणले पनि ठूलो महत्वका साथ हेरिन्थ्यो । तर, आधुनिक औषधि विज्ञानसँगै हाम्रो गाउँघरका भान्छा र करेसाबारीमा पाइने औषधिहरू विस्थापित हुँदै गए र हामी महँगा औषधितर्फ बढी आकर्षित हुन थाल्यौं । साधारण किसिमका समस्याहरूको निराकरणका लागि पनि ट्याब्लेट र सुईको भर पर्न थालेका छौँ किनभने रैथाने ज्ञानलाई आदर नै गर्दैनौं ।

हाम्रा वरिपरि यति धेरै औषधि छन्, तर हामी तिनको महत्व नै जान्दैनौं र बेवास्ता गर्छौं । तीतेपाती कान्ला कान्लामा फल्छ र यसमा कीटाणु मार्ने शक्ति हुन्छ । अकुप्रेसर र चाइनीज परम्परागत औषधिमा पनि यसको प्रयोग पर्याप्त हुन्छ । सुकेको तीतेपाती पोल्दा निस्कने धुवा’ले लामखुट्टे नआउने भएकाले कतिपय ठाउ’मा यसको प्रयोग गरिन्छ

सजीवनः अति नै पोषणले भरिपूर्ण अर्को वनस्पति छ, सजीवन, जसको तरकारी बनाएर हामी कहिलेकाहीँ खान्छौँ । तर सजीवन तरकारी मात्रै होइन कि कुपोषण नहोस् भनेर यसको प्रयोग वा कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि त यसले संजीवनी नै हो भन्ने तथ्य पनि प्रायः हामीलाई थाहा छैन । तराईको त घरघरमा सजीवन हुन्छ, सडकका छेउमा पनि यो रुख हुन्छ ।

सजीवनलाई कति जनाले शीतल चिनी पनि भन्छन । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मुङा र कतै सहिजन पनि भन्छन् । विभिन्न वैज्ञानिकहरुको भनाइ अनुसार सजीवनजस्तो गुण भएको विरुवा अर्को पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा जत्तिकै गुणकारी हुन्छ र अझ कति जनाले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन सजीवनमा पाइन्छ भन्छन् ।

अंग्रेजी भाषामा मारिन्गा भनिने यो वनस्पतिको बारेमा विश्व स्वास्थ्य संघले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान पनि गर्दैछ । सजीवनको पात पनि उत्तिकै पौष्टिक छ । यसमा कार्बोहाइट्रेड पनि हुन्छ । अर्थात् सजीवनको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसको साथै पातमा भिटामिन-सी पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैंमा दिएको उपहार हो सजीवन । तर तराईतिर जताततै पाइने यो पौष्टिक उपहार अपहेलित छ । अनि स्वास्थ्य मन्त्रालय चाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधी बाँड्दै हिँड्छ । तर समुदायलाई र आमालाई करेसा वरिपरिको सित्तैंमा पाइने सजीवन खानु भनेर सिकाउँदैन । Photo Source: Aruna Uprety/Facebook

 



प्रतिक्रिया दिनुहोस्