Logo

हामी क्याप्सुलवादबाट माथि उठ्न सक्छौं ?



डा. विद्यानाथ कोइराला : तीन महिनामा फरर अङ्ग्रेजी ट्युसन हुँदाको गुणस्तर हो यो । हाम्रा सल्लाहकारहरु । हाम्रा स्कुलका सानहरु । हाम्रा भौतिक सुविधाहरु । निजी स्कुल तथा कलेजको गुणस्तर हो यो । मेरा छोराछोरीले एक महिनामा अक्षर चिने । गीत गाउन जाने । अभिभावकको गुणस्तर हो यो । एसएलसीमा विशिष्ट श्रेणी ल्याए । विदेशमा पढ्न पाए । छात्रवृत्ति पाए । विद्यार्थीको गुणस्तर हो यो । हाम्रा सूचकहरु छन् । भौतिक सूचक । पठनपाठनका सूचक । मूल्याङ्कनका सूचक । उपलब्धिका सूचक । आफैं जाँच्नोस् । गुणस्तर खोज्ने विकासी संस्था र सरकारको गुणस्तर हो यो । यसरी हामीले गुणस्तर बनायौं । बेच्यौं । बेचायौं । जसले जे बुझे त्यही किने । किन्यौं । किनायौं ।

आखिर गुणस्तर के हो त ?

मेरो अर्जीः तीन महिनामा फरर बन्ने सिकाइ कला के हो ? खोजौं । त्यही कला सिकौं । सिकाऔं । त्यही गुणस्तर हो । यस अर्थमा सिकाइ कला गुणस्तर हो । के सिकाइकला शाश्वत हुन्छ ? मेरो अनुभवले भन्छ ? हुँदैन । त्यसो भए प्रत्येक विद्यार्थीको सिकाइ कला खोजौं । छोएर सिक्नेको कला । फोएर सिक्नेको कला । हेरेर सिक्नेको कला । अन्दाज गर्नेको कला । के हामी शिक्षकले विद्यार्थीको सिकाइ कला खोज्न सक्छौं ? सक्यौं भने गुणस्तर सुनिश्चित गर्ने कडी भेट्यौं ।

सिक्ने र सिकाउने कला एकअर्कामा मिल्छन् त ? घोरिऔं । म तुलना गरेर सिकाउँछु । सिक्नेले छोएर सिक्छ । दोठ्याङ पर्यो । म बोलेर सिकाउँछु । ऊ सुनेर सिक्छ । मिल्यो । गुणस्तरीय शिक्षण । गुणस्तरीय सिकाइ । यस अर्थमा सिक्ने र सिकाउनेको शैली मिले–नमिलेको कुरा खोजौं । शैली मिले गुणस्तरीय शिक्षण । नमिले गुणस्तरहीन शिक्षण । के हामी आफैंले खोजबिन गर्ने हो त ?

सिक्नेहरु थरीथरीका हुन्छौं । कोही उत्रिन्छौं । सतही । कोही गहिरिन्छौं । पागल । कोही सम्बन्ध खोज्छौं । हावादारी । कोही आफ्नो मूल्य र मान्यतामा वस्तु विश्लेषण गर्छौं । आधारशिलावादी । तर गुणस्तरले सबै कुरा खोज्यो । कागजले देखे त्यसको भित्तो खोज्ने । कसरी कागज बन्यो ? प्रक्रिया खोजी । कसले बनायो ? स्रष्टाको खोजी । किन बनायो ? विज्ञानको खोजी । कसले प्रयोग गर्यो ? व्यावहारिक खोजी । कागजहीन समाज कसरी सम्भव होला ? प्रवर्तनात्मक खोजी । यसरी हेर्दा कागजमै बहुरुपहरु खोज्ने । त्यसैले भूगोल । त्यसैको संरचना । त्यसैको प्रयोग । त्यसैको इतिहास । त्यसैको विज्ञान । त्यसैको वातावरण । त्यसैको उपयोग । त्यसैको दुरुपयोग । त्यसैको प्रयोगकर्ताहरु । त्यही खोजमा रमाउने अनुसन्धाता । त्यसैबाट पैसा बनाउने तरकिव खोज्ने उद्यमी । कुन खाले कागज बजारमा बिक्छ भनी पत्ता लगाउने वाणिज्यशास्त्री । यसरी एउटै वस्तुमा धेरै कुरा खोज्ने गहनतावादी शिक्षार्थी गुणस्तरीय हो । त्यसरी सिक्न उत्प्रेरित गर्ने शिक्षक गुणस्तरीय छौं त ? नभए बन्न सक्छौं त ? बन्ने उपक्रम गर्छौं त ?

पढेको कुरा जीवनमा मिलाउन खोज्नु गुणस्तर हो । भोगाइमा जोड्नु गुणस्तर हो । भोगेको कुरामा सिद्धान्त खोज्नु गुणस्तर हो । खोजिएको कुरामा किताब जोड्नु गुणस्तर हो । नवीन लेखनमा जोड्नु गुणस्तर हो । हामी थरीथरीका छौं । सोध्नेहरु । घोक्नेहरु । चोर्नेहरु । चोराउनेहरु । अनि भन्छौं ? सोच्ने मेरा विद्यार्थी । घोक्ने मेरै विद्यार्थी । चोर्ने मेरै विद्यार्थी । सोच्ने र खोज्ने गुणस्तरीय विद्यार्थी हुन् । घोक्ने र चोर्ने स्तरहीन । घोकाइमा त गहिराइ र अन्तरसम्बन्ध जोडे गुणस्तर आउँछ । चोराइमा के खोज्नु ? चोराउनेको गुणस्तर यसरी चोर्ने र चोराउनेहरु गुणस्तरहीन व्यक्ति हौं । नोट दिने र नोट लिने पनि त्यही कोटिमा पछौं । क्याप्सुलवादीहरु । अर्को शब्दमा भन्दा क्याप्सुलवादीहरु गुणस्तरहीन व्यक्ति हौं । के हामी आफैं क्याप्सुलवादबाट माथि उठ्न सक्छौं त ?

गुणस्तर स्थानहीन हुन्छ । जहाँबाट उठे पनि एकै ठाउँमा पुग्छ । घरबाट उठे विश्वका घरहरुमा पुग्ने । विश्वघरबाट जनघरमा पुग्ने । चामलको कुरा गर्दा त्यसको परिकार जान्ने । त्यसबाट अरु परिकार बनाउने सोच खोल्ने । कुन देशले के परिकार प्रयोग गर्छ भनी पहिल्याउने । चामलमा मकै मिसाएर परीकार बनाए के होला ? अर्को पाटो भनौं– पार्ले बिस्कुटको । के हाल्यो त्यसमा ? के झिके त्यो गाउँले रुचि अनुसार हुन्छ ? के थपे जिल्लाबासीको रुचिको हुन्छ ? खोज्ने । त्यसो गर्ने हो भने गुणस्तर स्थानीयबाट अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रियबाट स्थानीय हुन्छ । के हामीले त्यसो गर्ने हो त ?

किताबमा मात्र गुणस्तर हुन्न । जीवनमा हुन्छ । अनुभवमा हुन्छ । नवीन लेखमा हुन्छ । यसको अर्थ हो– पढेको कुरा जीवनमा मिलाउन खोज्नु गुणस्तर हो । भोगाइमा जोड्नु गुणस्तर हो । भोगेका कुरामा सिद्धान्त खोज्नु गुणस्तर हो । नवीन लेखनमा जोड्नु गुणस्तर हो । किनकि यसो गर्नाले ज्ञान सधैं ताजा हुन्छ । बासी भात भए पुलाउ बनाउन मिल्ने । बासी पाउरोटी भए केक बनाउन हुने । बासी केक भए गुँदपाक बनाइदिए चल्ने । यस्ता सीपले वस्तुको अधिकतम प्रयोग गर्न सिकाउँछ । चक्रीय प्रयोगले व्यक्तिलाई प्रवर्तक बनाइराख्छ । बेग्लै ढङ्गले सोच्ने । बेग्लै सोच्ने । अर्को अर्थमा वैकल्पिक सोच भएको व्यक्तित्व । किनकि किताब नयाँ हुँदैन । विद्यार्थी पुरानो हँुदैन । दुई थरीको दौड मिलाउने शिक्षक गुणस्तरीय हो । विद्यार्थी गुणस्तरीय हो ।

मात्र सिद्धान्त पढाउनेहरु गुणस्तरीय होइनौं । मात्र जीवन्त वस्तुस्थिति मात्र सिकाउनेहरु पनि गुणस्तरीय होइनौं । दुवै एकाङ्गी हौं । त्यसको अर्थ हो सिद्धान्त पढाउँदा व्यवहार जोड्ने । व्यवहार पढाउँदा सिद्धान्त खोज्ने गुणस्तरीय हौं । यो दुवै उपायले हामीलाई योजक बनाउँछ । ज्ञानमा पूर्णता दिन्छ । धामीको ज्ञानको स्रोत के हो ? उसको ज्ञानार्जन प्रक्रिया के हो ? मूल्यमान्यता के हो ? ज्ञान बनेको धरती कुन हो ? डाक्टर को नि ? कविराज को नि ? आम्ची को नि ? रेकीवाल को नि ? यसरी खोज्दा हामी गुणस्तर भेट्छौं । नवीनता देख्छौं । डाक्टर, कविराज, धामी र आम्चीको चिन्तनगत आधार के हो ? प्रक्रिया के हो ? मान्यता के हो ? विचार बन्ने थलो के हो ? यस्ता केहरुको खोजीले हामीलाई गुणस्तरीय बनाउँछ । एउटा झन्डाले चाहिँ एकस्तरे । धामी भए धामीलाई काम गर्ने । डाक्टर भए डाक्टरलाई मात्रै । यो मात्रै वाला बुद्धिले गुणस्तर हुन्न । जोड्नेहरुमा हुन्छ । किनभने जोड्दा नवीनता जन्मन्छ । त्यही गुण हो । छुट्टिँदा झन्डा बन्छ एक अर्कालाई काम नलाग्ने । के हामी शिक्षक नवीन बन्न सक्छौं त ? प्रवर्तक हुन सक्छौं त ?

उद्देश्यमा गुणस्तरी बन्ना बच्चा सोच्तैनौ । त्यसैले हामी गुणस्तरीय होइनौं । निजी स्कुलका बालबालिकालाई हामीले त्यसै गर्यौं । इन्जेक्जन लागएर बढाएको काँक्रो पार्यौं । सोझिएका । बढेका । त्यो स्तरीय होला । गुणस्तरीय होइन । किनकि त्यसले आफ्नो तागतमा बढ्न पाएन । अरुको तागतमा बढ्यो । तागत झिकिदिदा बेकामे भयो । के हामी शिक्षकले पाठलाई बच्चाको तागतसंग जोड्न जान्यौं त ? अनुभवले भन्छ जानेनौं । त्यसैले हामी गुणस्तहीन उदेश्य बोक्नेहरु हौं । विद्यार्थीको उदेश्य नजान्नेहरु । इन्जेक्सन दिने कम्पाउन्डहरु र कतै फर्केर हेर्ने कि ? पाठ्यवस्तुमै खोज्यौं । शरीरमा ब्रह्म खोजेजस्तो । जोड्न जाने नै । पण्डितहरुले जस्तो । शरीर जान्नेले मन नबुझे जस्तो । मन जान्नेले आत्मा, आत्मा जान्नेले इथरल शरीर नसोच्ने जस्तो । अर्थात् आफैंभित्र पाठ्यवस्तु नखोजेको । नखोजाएको । शरीरको ब्रह्म खोजेजस्तो । जोड्न जानेनौं । पण्डितहरुले जस्तो । शरीर जान्नेले मन नबुझे जस्तो । मन जान्नेले आत्मा, आत्मा जान्नेले इथरल शरीर नसोचे जस्तो । अर्थात् आफैभित्र पाठ्यवस्तु नखोजेको । नखोजाएको । शरीरको भूगोलमा साम्भता । लेख्ने, पढ्ने र पढाउनेको मनको साम्यता । विभेद । यस अर्थमा पाठ्यवस्तुलाई वस्तु बनाइदियौं । विषयगत बनाउन जानेनौं । त्यसैले हामी गुणस्तहीन उदेश्य बोक्नेहरु हौं । विद्याथीको उद्देश्य नजान्नेहरु । इन्जेक्सन दिने कम्पाउन्डरहरु र कतै फर्केर हेर्ने कि ? पाठ्यवस्तुमै खोज्यौं । शरीरमा ब्रह्म खोजेजस्तो । जोड्न जानेनौ । पण्डितहरुले जस्तो । शरीर जान्नेले मन नबुझे जस्तो । मन जान्नेले आत्मा, आत्मा जान्नेले इथरल शरीर नसोचे जस्तो । अर्थात् आफैंभित्र पाठ्यवस्तु नखोजेको । नखोजाएको । शरीरको भूगोल र पृथ्वीको भूगोलमा साम्यता । लेख्ने, पढ्ने र पढाउनेको मनको साम्यता । विभेद। यस अर्थमा पाठेयवस्तुलाई वस्तुगत बनाइदियौं । विषयगत बनाउन जानेनौं । त्यसको समालोचना गर्ने । अन्तरसम्बन्ध खोज्ने । शरीरसँग जोड्ने । मनमा जोड्ने ।

यसो गर्न नजान्दा हामीले पाठ्यवस्तुको गुणस्तरीय प्रयोग त गर्यौं । वस्तुगत प्रयोग । यस अर्थमा पाठ्यवस्तु र पाठ्यक्रम मात्रै पढाउनेहरु गुणस्तरीय प्रयोग त गर्यौं । वस्तुगत प्रयोग । यस अर्थमा पाठ्यवस्तु र पाठ्यक्रम मात्रै पढाउनेहरु गुणस्तरहीन शिक्षक हौं । पढ्नेहरु गुणस्तरहीन विद्यार्थी । के यो गुणस्तरहीनताको चक्र तोड्न सक्छौं त ?

मूल्याङ्कनले मूल्यको अङ्कन खोज्यो हाम्रो मूल्याङ्कन गृहस्थी धन्दा बन्यो । काम भइरहने । मूल्य नहुने । हामीले दिएको अङ्क त्यस्तै बन्यो । परम्परागत ढङ्गले ज्ञान जाँच्ने । आधुनिक बन्दा ज्ञान जाँचको सूचक बनाउने । पढाएको ज्ञानको । यसरी हाम्रो मूल्याङ्कनले मूल्य दिन जानेन । यस अर्थमा हामी गुणस्तरहीन मूल्याङ्कनकर्ता बन्न पुग्यौं । क्षमता जाँच्न नजान्ने । यो स्थितिले बच्चाको प्रोफाइल खोज्यो । जोडाउन खोज्यो । हामीले चाहिँ कक्षको औसन अङ्क हेरिरह्यौं । उत्तीर्णाङ्क हेरिरह्यौं । बच्चाङ्क मूल्याङ्कन पद्धति लागू गरे हामी गुणस्तरीय बन्छौं । नगरे स्तरहीन । के हामी बच्चाङ्क प्रणाली सुरु गर्ने सक्छौं त ? पृष्ठभूमि र अङ्क जोड्ने प्रणाली । भिन्न पृष्ठभूमिका बच्चाको अङ्कन गर्ने भिन्न शैली खोज्ने । के हामी यो काम गर्न सक्छौं त ?

मेरो टुङ्गोः गुणस्तरको पहिलो कसी बच्चाको तागत हो । त्यो तागत खोज्न सक्ने शिक्षक गुणस्तरीय हो । त्यही तागतमा पाठ्यक्रम र पाठ्यपुस्तक जोड्न सक्ने शिक्षक गुणस्तरीय हो । नसक्ने गुणस्तरहीन । बच्चाको सिकाइ कला जान्ने शिक्षक गुणस्तरीय हो । सो सिकाइ कलामा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक सरोकारवालाले खोजेको कुरा जोड्न जान्नेहरु गुणस्तरीय शिक्षा हो । त्यसमा अलमलिनेहरु गुणस्तरहीन । बच्चाको जान्न चाहने वेगमा अङ्कन गर्नेहरु गुणस्तरीय मूल्याङ्कनकर्ता हौं । कक्षा कोठाको औसतसँग नाप्नेहरु गुणस्तरहीन– नदीको तीन ठाउँको नापो लिएर औसत गहिराइ निकाल्ने तथ्याङ्कशास्त्री जस्ता । यस स्थितिमा मेरो टुङ्गो हो– गुणस्तरको आफ्नै मापो बनाऔं । परीक्षणलाई नापौं । अनि भनौं के म गुणस्तरीय विद्यार्थी हुँ ? के म गुणस्तरीय अभिभावक हुँ ?

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम