Logo

संसदको विशेष अधिवेशनका लागि समावेदनको तयारी



काठमाडौं, ७ वैशाख । ‘राजनीति यति तरल छ कि यसै भन्न सकिने अवस्था छैन,’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मुखबाट निस्कने वाक्य हो यो । उनी आफै देशको राजनीतिमा के हुन्छ यसै भन्न सकिने अवस्था नभएको बताइरहेका छन् । हुनपनि चेसको चाल जस्तो नेताहरु यसरी गोटी चालिरहेका छन् कि एउटाले आक्रामक कदम चाल्दा अर्कोले तत्काल काउन्टर दिइहाल्छ ।

विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीचको संघर्ष चलिरहेको छ । राजनीति क्लाइमेक्समा पुग्यो भन्दै उत्साही प्रचण्डलाई झड्का दिने गरी ओलीले हिजो एकाएक संसद अधिवेशन अन्त्यको निर्णय गराए । अधिवेशन अन्त नभएको भए नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको थियो । त्यही चाल पाएर ओलीले तत्काल अधिवेशन अन्त गर्न सिफारिशको निर्णय मन्त्रिपरिषदबाट गराए ।

अविश्वासको प्रस्ताव तत्काल टर्यो । तर, ओलीलाई सत्ताबाट हटाउन विशेष अधिवेशनको तयारी भएको छ । माओवादी केन्द्रले ओलीलाई दिइआएको समर्थन फिर्ता लिएर काँग्रेससँग मिलेर विशेष अधिवेशनका लागि समावेदन दर्ता गर्ने तयारी भएको छ ।

विशेष अधिवेशन डाक्ने अवस्था सृजना गरी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिका साथ काँग्रेस र माओवादी केन्द्र अगाडि बढेका छन् । त्यस्तो अवस्थामा नेकपा एमालेभित्रबाट फ्लोर क्रस समेत हुनसक्ने आँकलन छ ।

फ्लोर क्रस गर्न सक्ने सांसदहरुलाई ओलीले निलम्बन गरेर मतदानबाट वञ्चित गरेभने पनि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूह मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने अंकगणित देखिन्छ । यसकारण पनि समावेदनका लागि काँग्रेस र माओवादी केन्द्रबीच आन्तरिक सहमति भएको विश्वत स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्