Logo

म्याग्दीका बास्कुनाका कृषकको दुई दशकदेखिको सपना साकार



म्याग्दी, ७ बैशाख । बालमखोला सिँचाइ आयोजना निर्माण भएपछि म्याग्दीको बेनी नगरपालिका–४ बास्कुना, सुर्केमेला र थामडाँडाका बासिन्दाको दुई दशकदेखिको सपना पूरा भएको छ ।

खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले बेनी नगरपालिका–३ मा पर्ने बालमखोलाको मुहानबाट पानी ल्याएर तीनवटा बस्तीको जमिनमा सिँचाइ गर्न आयोजना निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७५÷७६ मा ठेक्का सम्झौता भएको सिँचाइ आयोजना यसै आर्थिक वर्षमा निर्माण सकेर पानी चलाइएको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर गुरुङले बताए । उनले १२४ घरधुरी कृषकको एक हजार दुई रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको जानकारी दिए । “विसं २०५७÷५८ मा बालमखोलाबाट डेढ इन्चको पाइपमा पानी आएको थियो । त्यो पानीले हामीलाई पुगेन । मुहानमा पानी खेर गइरहँदा यहाँ हाहाकार थियो”, उनले भने, “त्यहीबेला पाँच इन्चको पाइपमा पानी ल्याउने सपना देखेका थियौँ, अहिले २० वर्षपछि पूरा भएको छ ।”

विसं २०५८ मा परिकल्पना गरिएको बालमखोला सिँचाइ आयोजना विसं २०६४ मा राष्ट्रिय योजना आयोगको रातो किताबमा समावेश भए पनि २०७५ मा प्रदेश सरकारले कार्यान्वयन शुरु गरेको थियो । व्यावसायिकरूपमा तरकारी, खाद्यान्न र सुन्तला खेती गरेका कृषक सिँचाइ अभावमा समस्यामा परेका थिए । नियमितरूपमा सिँचाइ सुविधा भएपछि खेतीबाली लगाउन सहज हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बास्कुनाका कृषक भबिलाल काउचाले बताए । “पानी नहुँदा खेतबारी बाँझै राख्नुपर्ने समस्या थियो”, उने भने, “सिँचाइ सुविधा हुन थालेपछि आयआर्जन बढाउन खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छौँ ।”

बास्कुनाको पूरै गाउँमा सुन्तला खेती भएको छ । बीस हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपिएको अगुवा कृषक तिलक गुरुङले बताए । रु एक करोड ६० लाख लागत अनुमान गरिएको बालमखोला सिँचाइ आयोजना झिँ निर्माण सेवाले रु एक करोड २७ लाखमा ठेक्का लिएको थियो । तेत्तीस प्रतिशत घटेर ठेक्का लिएको कम्पनीले सम्झौताभन्दा १५ प्रतिशत कम करिब रु एक करोड सात लाख मात्र भुक्तानी लगेको खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका प्रमुख कुमार खड्काले बताए ।

“मुहान, मुख्य र शाखा पाइपलाई, रिजर्भ ट्याङ्की, भल्ब च्याम्बरलगायतका संरचना निर्माण सकिएपछि आयोजनाबाट पानी चलाइएको छ”, उनले भने, “बास्कुना, सुर्केमेला र थामडाँडाका बासिन्दालाई व्यावसायिक कृषि पेशाबाट आयआर्जन र जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” बालमखोलाबाट थामडाँडामा निर्माण भएको एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा प्रतिमिनेट ५० लिटरका दरले पानी आपूर्ति गराइएको छ । नौ किलोमिटर वितरण लाइनको पाइपमार्फत सबै कृषकको खेतबारीमा सिँचाइ गर्न मिल्ने गरी संरचना बनाएका छन् ।

बास्कुनामा तत्कालीन जिविस, गाविस र विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब रु ३० लाख खर्चेर बनाइएको डेढ लाख लिटर क्षमताको पोखरी पनि प्रयोगमा ल्याइएको छ । गण्डकी प्रदेशसभाको म्याग्दी क्षेत्र (क)का सांसद विनोद केसीले ओझेलमा परेको बालमखोला सिँचाइ आयोजना प्रदेश सरकारमार्फत कार्यान्वयनमा पहल गरिएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्