Logo

घट्यो जौ बारीको चहलपहल



इलाम, ७ बैशाख । इलाम सन्दकपुर गाउँपालिका–३ का कोषराज खतिवडा एक दशक अघि यस याममा मटरको हरियो कोसा बोकेर जौबारी गएको स्मरण गर्दै भन्छन् । “यसरी कयौदिन भोगियो, सानो चहलपहल हुन्थ्यो त जौबारीमा ” उनले प्रश्न गरे । हरियो मटर बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा यसैगरी बित्थ्यो ।

उत्पादित वस्तु जौबारी पु¥याउने र दैनिक उपभोग्य वस्तुु स्वदेश भित्राउथे । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भए पनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुुको मूल्य बढी पर्ने गरेको उनको भनाइ छ । अलैँची, कुचो, अदुवालगायतका वस्तुु सो बजारमा महङ्गो मूल्यमा बिक्ने गरेको थियो । यस्तै नेपालीका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तुु पाइने भएकाले हालको सन्दकपुर गाउँमा मात्र हैन माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार सोही रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारको भर पर्ने गरेका थिए ।

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सीमासँग जोडिएको कारण किसानले उब्जाएको सबै बेच्न सकिने र किसानको दैनिक उपभोग सामान पाइने एक मात्र व्यापारी केन्द्र बनेको थियो जौबारी त्यतिबेला । भारतीय व्यापारीको बाक्लो बसोबास भएकोले नेपाली गाउँ घरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्ये । सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्रायः हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हुँदै जौबारी नघुमी फर्कँदैन थिए । इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँबजारमा भन्दा बढी चहलपहल र ठुलो बजारको रुपमा रहेको थियो जौबारी । यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यताजस्तै भएको सन्दकपुर–३ का सन्तोष खतिवडाको भनाइ छ । यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैँ किसानले मागेको उपभोग्य सामान लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमान लिएर जाने गर्ने गरेको पत्रकार बिप्लव भट्टराई बताउछन् । हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने उहाँ सोही क्षेत्रका स्थानीय पनि हुन् । उनले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु नपरेको उनी बताउछन् । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार विस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसावमा इतिहासमा सीमित बनेको छ । रासस



प्रतिक्रिया दिनुहोस्