Logo

एकीकृत बस्ती बसाल्दै सहकारी



दमक, वैशाख ८ । झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित ४३ लाख देखि अधिकतम ५१ लाख रुपियाँसम्मका घर निर्माण हुने जनाइएको छ ।

मङ्गलबार सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार दमक ४ मा एक बिगाहा १६ कट्ठा जमिनमा ५२ वटा घर निर्माणको काम सुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरूको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

सहकारीले सुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यसबाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यलाई २० वर्षे किस्ताबन्दीमा घर उपलब्ध गराइने छ ।

घर एकै प्रकारका बन्ने र जग्गाको प्रकृतिअनुसार जग्गा बढी भएका घरमा केही रकम घटबढ हुने भएकाले मूल्यमा एकरूपता गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले बताए । उनका अनुसार ५० प्रतिशतभन्दा बढी घर सदस्यहरूले इच्छाएर बुकिङ गरिसकेका छन् । डेढ तले घर बन्ने बस्तीमा ढल, खानेपानी, टेलिफोन, बाटोघाटो लगायत आवश्यक सबै पूर्वधार रहने पनि जनाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्