‘ओलीद्वारा हिन्दुत्वको एजेन्डा प्रयोग’


काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावलाई लक्षित गरी हिन्दुत्वको एजेन्डा प्रयोगमा ल्याएको विषय भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा युवराज घिमिरेले लेखेका छन् । उनले ओलीले पछिल्लो समय धार्मिक गतिविधि गरिरहेको देखि पशुपतिनाथमा ८० केजीको सुनको जलहरी चढाउन चालेको कदमलगायतका तथ्यहरु उल्लेख गर्दै हिन्दुत्वलाई प्रयोग गरिरहेको तर्क गरेका छन् ।

ओली ‘हिन्दु भक्त’ देखिएको उल्लेख छ । ओलीले पशुपतिनाथमा विशेष पूजा गरेको र अयोध्यापुरीमा आज राम नवमी पारेर राम, सीता र लक्ष्मणको मूर्ति स्थापना गर्न लागेको विषय समेत जोडेका छन् । भारतको अयोध्या नभई चितवनको अयोध्यापुरी राम जन्मभूमी रहेकोमा ओलीको जोड रहेको छ ।

ओलीले मङ्गलबार चैत्र महाअष्टमीमा बालुवाटारस्थित सरकारी निवासमा भजन र पूजामा पर्याप्त समय दिएको विषय पनि इन्डियन एक्सप्रेसमा उल्लेख छ । सोही दिन माधवकुमार नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न ओलीले प्रक्रिया बढाएको भनिएको छ ।

ओली आक्रामक रुपमा प्रस्तुत हुँदै पार्टीका विरोधीलाई पन्छाउने र हिन्दुत्वको एजेन्डा उठाउने दोहोरो रणनीति एकसाथ चालिरहेको घिमिरेले लेखेका छन् । पछिल्लो समय ओलीले धर्मास्त्र प्रयोग गरेको विषय उठ्दै आउँदा इन्डियन एक्सप्रेसमा हिन्दुत्वको एजेन्डा ओलीले उठाएको विषय आउनु अर्थपूर्ण छ ।