Logo

आँबुखैरेनी गाउँपालिका भवन निर्माण सम्पन्न



तनहुँ, ८ बैशाख । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ । सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यबमोजिम गाउँपालिकाले नयाँ भवन निर्माण गरेको हो । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । नयाँ वर्षको शुरुवातसँगै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।

विसं २०७६ माघ २१ गते सम्झौता भई २०७८ साउन २१ गते सम्पन्न गर्नुपर्ने म्याद रहेपनि म्याद अगावै भवन निर्माण सम्पन्न भएको छ । सिजल कन्स्ट्रक्सन जेभीले सम्पन्न गर्नुपर्ने म्यादभन्दा तीन महिना अगावै भवन निर्माण सम्पन्न गरेको हो । भवनले ३२३.२२ वर्गमिटर क्षेत्रफल ओगटेको छ । भवन निर्माण सम्पन्न भएसँगै सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्न सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।

गाउँपालिकाले यस अगाडि कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको थियो । “साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ सम्पन्न भवनले सहज हुनेछ,” पोख्रेलले भने । नयाँ भवनबाट सेवा शुरु भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच गाउँपालिकाको छ । त्यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । “नपुग रकम आगामी वर्ष विनियोजन गर्छौ, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो,” उनले भने ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित निर्माण शुरु भएको भवन समयमै निर्माण सम्पन्न भएको बताउनुभयो । स्थानीय तहमा निर्वाचित भएको चार वर्षको अवधिमा आफूहरुले धेरै विकास निर्माणका काम गरेको उनले बताए । “प्रत्येक वडामा विकासका काम भएका छन्, पाँच वर्षको अवधिमा सबै पूर्वाधार निर्माण गरेर छाड्ने लक्ष्य राखेका छौँ,” थापाले भने । रासस



प्रतिक्रिया दिनुहोस्