Logo

रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुँदै



रामपुर, ९ बैशाख । पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थल पाल्पा, रामपुरको रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण थालनी गरिएको छ । त्रेतायुगमा भगवान् रामचन्द्र वनवास जाने क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको पुण्यभूमिमा स्थानीयवासीको सक्रियतामा स्याहार केन्द्र निर्माणकार्य शुरु भएको छ ।

भवन निर्माणका लागि यस आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयमार्फत रु २५ लाख बजेट प्राप्त भएपछि निर्माणको काम अगाडि बढाइएको छ । आगामी असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ छ कोठा, एक हलसहित दुई तलाको भवन निर्माण गरिँदैछ । माथिल्लो तलामा हल रहनेछ भने तल्लो तलामा प्राथमिक स्वास्थ्य उपचार कक्ष, खाजा नास्ता खाने ठाउँ निर्माण गरिने लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउछन् ।

उमेर ढल्कदै गएको अवस्थामा घरमा छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त हुने भएको हुँदा दिन बिताउन र आफ्नै उमेर समूहका दौँतरीसँग कुराकानी गरेर दिन बिताउन मिलनकेन्द्र रामपुरमा अति आवश्यक रहेको समाजसेवी अर्जुनप्रसाद रेग्मी बताउछन् । रामपुर नगरपालिकाभित्र थु्रपै पर्यटकीय, धार्मिक, ऐतिहासिकस्थल रहे पनि रामघाटलाई विशेष महत्वका रुपमा लिइन्छ । यहाँ ज्येष्ठ नागरिक स्याहार केन्द्र बन्ने भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

ज्येष्ठ नागरिक स्याहार केन्द्रका अलवा कालीगण्डकीवँेशीको पवित्र तीर्थस्थलका रूपमा रहेको रामघाटको ऐतिहासिकलाई जोगाउन पुरानैशैलीमा लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएको छ । भूकम्पले क्षति पुगेको मन्दिरलाई पुनःनिर्माण गरी पुरानै आकार दिइएको छ । पुरातात्विक विभागबाट आर्थिक वर्ष २०७५÷७६ मा रु १५ लाख र आव ०७६÷७७ मा रु २८ लाख गरी रु ४२ लाखको लागतमा मन्दिर निर्माणकार्य गरिएको हो ।

लक्ष्मीनारायणको मन्दिर यो क्षेत्रकै धार्मिक गहनाका रूपमा लिने गरिन्छ । पहिले पहिले पैदल हिँडेर एक दुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बुढापाका बताउँछन् । रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा समावेश गरेको छ । कालीगण्डकीको तट, कालीगण्डकी करिडोर नजिकै रहेकाले पनि यो क्षेत्रमा अवलोकन गर्न जानेको अहिले चहलपहल बढ्दैछ । रासस



प्रतिक्रिया दिनुहोस्