Logo

टीकापुर नगरपालिकामा सम्झौता सकिए पनि काम सकिएन



कैलालाी, १० बैशाख । कैलालीको टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन ।

टीकापुर–१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको छ लेन सडक विद्युत् पोलको कारण देखाउँदै निकै सुस्त गतिमा निर्माण भइरहेको छ । बहुप्रतिक्षित विसं २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको सडक समयावधि सकिँदासमेत आधासमेत निर्माण हुन सकेको छैन । सङ्घीय सरकारको रु २० करोड लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटर छ लेन सडक रमण केएस जेभीले निर्माण गरिरहेको छ ।

हालसम्म कम्पनीले सडकमा नाला, कल्भर्ट र वाल निर्माणको काम गरिरहेको छ । समयवधि सकिँदासमेत सडकको बेससमेत नबन्दा स्थानीयवासी आक्रोशित बनेका छन् । सडकको बेससमेत निर्माण नहुँदा सडक धुलाम्मे बन्न पुगेको हो । निर्माण कम्पनीको लापर्वाहीका कारण मुख्य सडक क्षेत्रका बासिन्दाले दिनहुँ धुलो खानुपरेको स्थानीय व्यापारी बताउँछन् । “निर्माण कम्पनीको लापर्वाहीले सडकमा धुलो उडेर हैरान छौँ ।

अन्य नियमनकारी निकायले पनि व्यवस्था गर्दै आएका छन् ।” स्थानीय व्यापारी हेमन्त रावलले भने, “कोरोनाको भन्दा पनि बढी हामीलाई यो धुलोको समस्या छ, बाहिर राखेको सामानसमेत बिग्रिन्छ, वैशाखको महिनामा हावा चल्दा त स्वास फेर्नसमेत मुस्किल हुने अवस्था छ ।” उनले सडकमा पानी नहालेको दिन सामान बाहिर राख्न सकिने अवस्था नरहेको जनाउँदै सडकमा पानी हालेको दिन भने केही राहत हुने गरेको बताए । सडकमा पानी हाल्ने काम निर्माण कम्पनी गरेको भए पनि वैशाख महिनाको चर्को घामले सडकमा हालेको पानी केही घण्टामै सुक्ने गरेको छ ।

बाटोमा खाल्डाखुल्डी छन् । कालोपत्रे खनेर ग्राभेल मात्रै राख्दा सडकमा दुर्घटना हुने गरेको छ । टीकापुर नगरपालिकाले निर्माण कम्पनीलाई पटक–पटक बोलाएर निर्माण कार्य तत्काल सम्पन्न गर्न दबाब दिँदै आएको भए पनि कम्पनीले आलटाल गर्दै आइरहेको नगरपालिकाको नगर उपप्रमुख केशरी विष्टले बताए । “निर्माण कम्पनीले दुई किलोमिटर सडक बनाउन अनेक बाहाना गर्दै आइरहेको छ, हामीले पटक–पटक बोलाएरै भनेका छौँ ।” उनले भने, “सडक डिभिजन कार्यालय, सम्बन्धित इञ्जिनीयर, निर्माण कम्पनीलाई ताकेता गर्दा पनि सडकले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा अन्य विकास निर्माणका कार्यसमेत प्रभावित बन्ने अवस्था आएको छ ।”

निर्माण कम्पनीले भने सडकखण्डमा पर्ने ३३ केभी प्रसारण लाइन र बन्दाबन्दीका कारण निर्माण प्रभावित बनेको बताउँदै आएको छ । विद्युत्ले प्रसारण लाइनअन्तर्गतका पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । उक्त सडकखण्डमा विद्युत्का १४ वटा पोल परेका छन् । सात टावर र सात टिबलर पोल रहेका छन् । यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएका हुन् । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्य भागमा पर्न गएको छ ।
रासस



प्रतिक्रिया दिनुहोस्