Logo

हिजो माधव नेपाल पक्षले केपी ओलीलाई गरेको कारबाही हामीले बिर्सिएका छैनौं : राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति नहुनुको कारण माधव नेपालले अनुचित अडान राखेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने,‘प्रधानमन्त्रीज्यूले अस्ति र हिजो माधव नेपालसँग वार्ता गर्नुभयो । त्यसमा नेता नेपालको अनुचित माग रह्यो, ती अनुचित अडानका कारण सहमति हुन सकेन । उहाँले नेकपा एमालेलाई २०७५ जेठ २ गतेतर्फ फर्कन भन्नुभयो । ती माग अनुचित छन् । त्यसरी अब फर्कन सकिँदैन् । त्यो असम्भव कुरा हो । उहाँहरु आफूले गरेका गल्ती सुधार गर्न चाहनुहुन्न । आफ्नो अडानबाट पछि हट्नुहुन्न । यस्तो गर्नु गलत छ ।’

भट्टराईले विचार र सिद्धान्तको राजनीति गर्ने हो भने माधव नेपाल पक्षधरले गलत भएको र गरेको कुरा स्विकार गर्नुपर्ने पनि तर्क गरे । तर, अहिलेसम्म नेता नेपालमा त्यो नदेखिएको जिकिर गरे । उनले भने,‘आफू कहाँ छौं भन्ने कुरा उहाँहरुले मूल्यांकन गर्नुपर्छ ।’ उनले हिजो अप्ठ्यारो बेलामा प्रधानमन्त्री ओलीलाई साथ दिनेहरुलाई आज बाहिर पठाउन नसकिने पनि स्पष्ट पारे । उनले हिजो नेकपा हुँदा माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमागि गरेको कारबाहीलाई आफूहरुले बिर्सन नसक्ने पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्