Logo

पुराना बस्तीको समस्या प्राथमिकतामा



काठमाडौं, बैशाख ११ । काठमाडौँ उपत्यकामा परम्परागत बस्तीको समस्या समाधान गरेर मात्र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयलाई सम्बोधन गरिने भएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अन्य जिल्लामा भन्दा अलि बढी समय लाग्ने स्थिति देखिएको छ ।

स्थानीय तहले परम्परागत बस्तीको समस्या पहिला सम्बोधन गर्न चाहेकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई सम्बोधन केही ढिलो हुने देखिएको छ । परम्परागत बस्तीका कतिपय बासिन्दासँग उपभोग गरिरहेको जमिनको पुर्जा नभएको, जग्गाको नापी नभएको लगायतका समस्या रहेको जनाइएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका प्रवक्ता भीम कार्कीले उपत्यका मेयर फोरमसँग छलफल गर्दा स्थानीयको पुरानो समस्या यथावत रहेको अवस्थामा अव्यवस्थित र सुकुम्बासीका मात्रै समस्या समाधान गर्न नसकिने सुझाव दिएको बताए । उपत्यकामा बेनिस्सा, स्वबासी, ब्लक नापीलगायतका समस्या छन् ।

लामो समयदेखि बसेका कतिपय स्थानीयको जग्गा नापी भएको छैन । वर्षौंदेखि बसिरहेकासँग बेनिस्साको समस्या छ । त्यसैगरी ब्लकमा मात्र नापी भएको अवस्था छ । भित्री बजारमा ब्लक नापी मात्र भएकाले व्यक्ति÷व्यक्तिले पुर्जा पाउन नसकेको अवस्था छ ।

राजमार्ग, विश्वविद्यालयलगायतका निर्माण गर्दा बस्तीहरू सारेर अर्को ठाउँमा राखिए पनि उनीहरूलाई निस्सा दिइएको थिएन । वर्षौंदेखि बसे पनि उनीहरू पुर्जाविहीन छन् । कीर्तिपुर बजार क्षेत्र, साँखु, भक्तपुरलगायत विभिन्न ठाउँमा यस्ता समस्या छन् ।

आयोगले सहरी क्षेत्र र उपत्यकाका सन्दर्भमा केही फरक तरिकाले समस्याको सम्बोधन गर्ने सोच बनाएको छ । सहरी क्षेत्रमा जग्गाको उपलब्धता कम भएको हुँदा अन्य विकल्पसहित अगाडि बढ्न खोजिएको छ । गोरखापत्र दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्