Logo

ठडियो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन (फोटोफिचर)



काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरेका छन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि गर्दै पूनर्निमित धरहराको उद्घाटन गर्नु भएको हो । २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्काएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहराको उचाइ जमिनबाट ८३ दशमल ८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा उदघाटन गरिए पनि सर्वसाधरणका लागि अवलोकन भने खुला गरिने छैन । १९९० साल माघ २ गतेको भूकम्प अघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।

अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग छ । दुईवटा लिफ्ट रहेको धरहरामा हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । धराहरा वरपरको २९ रोपनी क्षेत्रफलमा विस्तारित सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ४८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot