Logo

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ्गको सत्ता टिक्ला ? यस्तो छ प्रदेशसभाको अंकगणित



काठमाडौं, ११ वैशाख । गण्डकी प्रदेशको विशेष अधिवेशनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको सत्ताको टुगो लगाउने भएको छ । प्रदेश सभाको विशेष अधिवेशन १३ वैशाखमा बस्ने तय भइसकेको छ । विशेष अधिवेशनमा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो हुनेछ ।

गुरुङ्गविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एक भएका छन् । तीन पार्टी एक भएपछि मुख्यमन्त्री गुरुङ्गको पद धरापमा परेको हो ।

यसअघि मुख्यमन्त्री गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेपछि प्रदेश सभाको अधिवेशन नै अन्त गर्ने निर्णय गराएका थिए । अविश्वासको प्रस्ताव छल्न उक्त कदम चालेपनि विशेष अधिवेशन बोलाउन काँग्रेस र माओवादी केन्द्रले समावेदन गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ जना सासद छन् । एमालेविरोधी सबै दल एक भएमा मुख्यमन्त्री गुरुङ्गको पद धरापमा पर्ने निश्चित जस्तै छ ।

मुख्यमन्त्री गुरुङ्गलाई हटाउन आवश्यक परे फ्लोर क्रसको सम्भावना पनि छ । गुरुङ्गले पनि जसपा र जनमोर्चाका सांसदलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्