Logo

सम्पदा पुनर्निर्माण आधा बाँकी



काठमाडौं, बैशाख १२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महाभूकम्पमा क्षतिगस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ। २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन्। विश्व सम्पदा क्षेत्रमा क्षति भएका १ सय ७० सम्पदामध्ये १ सय १० वटाको निर्माण सम्पन्न भएको छ।

४९ वटाको निर्माण चालू वर्ष सम्पन्न हुनेछ। उपत्यकाका ४ सय ६ सम्पदामध्ये २ सय ७ वटाको निर्माण सम्पन्न भएको छ। १ सय ११ वटा निर्माणाधीन छन्। उपत्यका बाहिर ३ सय ४४ मध्ये १ सय ९६ वटा सम्पदा सम्पन्न भएका छन् भने १ सय २८ को पुनर्निर्माण भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरेका छन्। यसअघि रानीपोखरी पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको छ। सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको फागुन ३ गते प्रधानमन्त्री ओलीबाट उद्घाटन भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा छ। केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायत पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ।

बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवं नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाका गुरुयोजना स्वीकृतिको चरणमा छन्।

भूकम्पमा ठूलो संख्यामा गुम्बा भत्किएका थिए। १ हजार ३ सय २० गुम्बामा क्षति पुगेको थियो। मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन्। पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २ सय ६४ गुम्बामध्ये ३६ वटा र १ सय वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको छ।

भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशतको पुनर्निर्माण भएको छ। १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २ सय ९६ को पुनर्निर्माण जारी छ। ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ।

प्राधिकरणअन्तर्गत सुरक्षा निकायका २ सय १६ संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ। पुनर्निर्माणका क्रममा ७ सय ६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किलोमिटरको पुनर्निर्माण सम्पन्न भइसकेको छ।प्रवद्र्धनमा टेवा पुगेको छ। यसले अर्थतन्त्रमा उल्लेखनीय योगदान गरेकोे प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पुनर्निर्माणबाट ८ लाख घरपरिवारको बैंक खातामार्फत वित्तीय पहुँचमा वृद्धि भएको छ। प्रवलीकरण प्रविधिको स्वीकार्यता र माग बढ्दो छ। पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणमा परम्परागत प्रविधिको पुनर्विकास भएको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot