Logo

ओली यसकारण माधव नेपालसहित उनी पक्षधर सांसदलाई कारबाही गर्नबाट ब्याक भए



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल भएको छ । तर, आजको बैठकले कारबाही नगर्नुको मुख्य कारण भने महाधविशेन आयोजक कमिटीको बैठकभन्दा अघि बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल मात्रै कारबाहीको पक्षमा उभिनु र बाँकी शीर्ष नेताहरु तत्काल कारबाही गर्न नहुने पक्षमा उभिनु नै रहेको छ ।

बैशाख १० गतेमात्रै एमालेले माधव नेपाल पक्षलाई बाहिर राखेर १९ सदस्यीय स्थायी कमिटी विस्तार गरेको थियो । बैशाख ६ गतेको बैठकले माधव नेपालसहित उनी पक्षधर २७ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । दुई दिनभित्रै स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको थियो । माधव नेपालसहित अधिकांश सांसदहरुले व्यक्तिगत रुपमै स्पष्टीकरणको जवाफ पेश गरेका थिए । माधव नेपालसहित उनी पक्षधर सांसदहरुको जवाफ चित्तबुझ्दो नभएको अध्यक्ष ओलीको गुनासो छ । र, केही सांसदले भने नरम भाषामा जवाफ फर्काएको पनि उनको निश्कर्ष छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्नेबारे पनि छलफल भएको थियो । अविश्वासको प्रस्ताव पारित गर्न माधव नेपाल पक्षधरले फ्लोर क्रस गरेर भएपनि विपक्षीलाई सघाउने सूचना भएकोबारे बालुवाटारमा छलफल भएको थियो । माधव नेपाल पक्षधरका कम्तिमा पनि ७ देखि १० जना सांसदलाई कारबाही गर्ने ओलीको तयारी छ । Photo Source: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्