Logo

कोरोना संक्रमण बढेपछि व्यापार घट्यो



काठमाडौं, बैशाख १३ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै व्यापार व्यवसाय सुस्ताउन थालेको छ । संक्रमणको प्रभावका कारण उपभोक्तामा त्रास बढेपछि बजारमा चहलपहल कम हुँदै गएकाले व्यावसायिक कारोबार घट्न थालेको हो ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठाउँमा करीब २५ प्रतिशतसम्म व्यापार घटेको बताइएको छ । काठमाडौं बाहिरबाट माल सामान खरीद गर्न आउने थोक व्यापारी समेत संक्रमणको डरले यतिबेला आउन सकेका छैनन् ।

सुध्रिन लागिसकेको व्यापार व्यवसाय कोभिड महामारी बढेपछि पुनः संकटमा पर्न थालेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘व्यापारमा केही सुधार हुन्छ कि जस्तो देखिएको थियो । व्यापारीमा एक किसिमको आशा पलाएको थियो,’ उनले भने, ‘पछिल्लो समय बढ्दो संक्रमणले फेरि निराश बनाएको छ ।’

महासंघका अनुसार काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर लगायत विभिन्न शहरमा व्यापार अवस्था खस्कँदै गएको छ ।

अहिले गर्मी मौसम शुरू भएको छ । वैशाखमा गर्मी मौसमका लत्ताकपडाको व्यापार ठूलो मात्रामा हुनुपर्नेमा कोभिड संक्रमण बढेकाले अपेक्षित व्यापार हुन नसकेको व्यवसायी बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्