Logo

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ



काठमाडौं, बैशाख १३ । भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्। दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

नेपाल–भारतका सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सीमा नाका बन्द गर्ने प्रस्ताव गरेका बेला विमानस्थलबाट भने निर्वाध रूपमा भारतीय नागरिहरू भित्रिएका हुन्। कोरोना संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर आएका भारतीयलाई नेपाल प्रवेश गर्न दिइएको अध्यागमन विभागले जनाएको छ। तर भारतीय विमानस्थलबाट नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहलाई समेत कोरोना संक्रमण देखिँदा पनि विमानस्थलमा चेकजाँचलाई कडाइ गरिएको छैन।

प्रहरीका अनुसार कतिपय नागरिकहरूले नक्कली पिसिआर रिपोर्ट पेस गरी नेपाल प्रवेश गरेको र उनीहरू नेपालको गेस्ट हाउसमा बस्दा समेत संक्रमण फैलाउन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले भारतीयहरूमाथि निगरानी बढाएको छ। नेपाल आएकामध्ये ६८ भारतीय नागरिकको पिसिआर रिपोर्ट नक्कली भएको भन्दै विमानस्थलले फर्काएको थियो।

अध्यागमन विभागका अनुसार दुई महिनायता भारतीय नागरिकहरूले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक बाहिरिएका हुन्। ‘दुई महिना भारतीय नागरिकहरू आउने क्रम बढेको छ उनीहरू नेपालको अध्यागमन कानुनअनुसार आएकाले उनीहरूलाई आउन र जान रोक लगाइएको छैन,’ अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने।

अध्यागमन विभागका अनुसार दुई महिना अगाडिका तुलनामा अहिले धेरै भारतीय नागरिक आइरहेका छन्। भारतीय नागरिकहरूको संख्या बढेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन गृह मन्त्रालयमा छलफल गरेको भए पनि कुनै निर्णय गरेको छैन। ‘गृह मन्त्रालयमा यो विषयमा छलफल भएको छ तर रोक लगाउने विषयमा कोभिड–१९ व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले निर्णय गर्नुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो।

कोरोना संक्रमणका कारण ३ फ्रेबुअरीदेखि साउदी अरबले भारतबाट हुने सीधा उडान रोकेको छ । भारतीय नागरिकहरूलाई साउदीलगायत देश जान रोकेपछि उनीहरू पीसीआर रिपोर्ट लिएर नेपाल आउने र १० दिन नेपाल बसेर पुनः पिसिआर रिपोर्ट बनाएर तेस्रो मुलुक जाने गरेका हुन्। काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ कियरमा नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै छापा मारेको थियो। त्यही हेल्थ कियर सेन्टरका नाममा जारी भएको पिआर रिपोर्ट लिएर विमानस्थल पुगेका १ सय ७२ जनालाई अध्यागमन विभागले फिर्ता गरेको थियो।

त्यसमध्ये ६८ जना भारतीय नागरिक रहेको स्रोतको दाबी छ । चारजना प्रहरी आफैं सेवाग्राही बनेर पिसिआर रिपोर्ट लिन सिनामंगलस्थित सुरिया हेल्थ कियरमा पुगेका थिए। ९ हजार रुपैयाँ तिरेपछि स्वाब नदिई नेगेटिभ रिपोर्ट दिएपछि प्रहरीले प्रयोगशालाका ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। त्यहाँबाट परीक्षण गरिएका चारजनाको स्वाब संकलन गरी पठाएकोमा चारैजनाको कोरोना संक्रमण देखिएको छ। अध्यागमन स्रोतका अनुसार यही अप्रिल महिनामा ६ हजार भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएका थिए।

मार्च महिनाभरिमा ५ हजार १ सय ९२ जना भारतीय नागरिक गएका थिए। संक्रमण बढेको बेला भारतीय नागरिकहरू आएका छन् तर नेपालको अध्यागमन कानुन र स्वास्थ्य मापदण्ड पूरा गरेपछि उनीहरूलाई नेपाल प्रवेशको अनुमति र बाहिरिने अनुमति दिइएको हो, विमानस्थलमा रोक नलगाउँदासम्म यो प्रक्रिया चल्छ,’ अध्यागमन विभागका प्रवक्ता ढकालले भने । उनका अनुसार कोभिडका कारण अहिले समस्या उत्पन्न भएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्