Logo

चिम्टेश्वर, देवीघाट र नुवाकोट दरबारमा एकीकरण अभियान विकास समिति गठन हुँदै



चिम्टेश्वर, १४ वैशाख । पृथ्वीनारायण शाहको एकीकरण अभियान र उनीसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठन हुने भएको छ । ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘विकास समिति ऐन, २०१३’ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको तयारी भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले समितिको गठन आदेशको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउन लागेको छ । यसले शाहका योगदानप्रति राज्यका तर्फबाट सम्मानका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने संस्कृतिमन्त्री भानुभक्त ढकालले बताए । एकीकरण अभियान र नुवाकोटको पर्यटन प्रवद्र्धनका लागि यस प्रकारको समिति गठन हुन लागेको यो पहिलो अवसर हो ।

उक्त समितिले विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्र, भैरवी मन्दिर परिसर, शाहको समाधिस्थल विदुर– ५ देवीघाट, बेलकोटगढी नगरपालिका वडा नं १,२,३,४,९ र ११ मा पर्ने चिम्टेश्वर क्षेत्र तथा नुवाकोटका नौमध्ये छ कोट (प्यासकोट, कालिकाकोट, सिमलकोट, भैरुमकोट, मालकोट र बेलकोट) क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने जिम्मेवारी पाउनेछ । गठन आदेश जारी भएपछि समितिलाई वार्षिक रु ५० लाख पूँजीगत र रु ३० लाख चालु गरी रु ८५ लाख बजेट दिन अर्थ मन्त्रालयले सहमति दिएको छ । गत पुस १३ गते नुवाकोट दरबार क्षेत्रको निरीक्षणका क्रममा मन्त्री ढकालले समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त क्षेत्रको पूर्वमा नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिका, पश्चिममा तारकेश्वर र म्यागङ गाउँपालिका, उत्तरमा रसुवाको उत्तरगया गाउँपालिका, दक्षिणमा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिका पर्छन् । नेपाल एकीकरणको उद्देश्यले सञ्चालित लडाइँका क्रममा शाहले विसं १८०१ असोज १५ गते काठमाडौँसँग जोडिएको नुवाकोटमाथि विजय हासिल गरेका छन् ।

समितिले एकीकरण अभियानका क्रममा प्रयोग भएको क्षेत्रको विकाससम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने–गराउने, सो अभियान र शाहसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्धित प्राचीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको संरक्षण, संवर्धन र पुनःनिर्माण गर्नेछ । यस्तै देवीघाट क्षेत्रमा रहेका प्राचीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, शाहसँग सम्बन्धित प्राचीन सामग्री सङ्कलन र संरक्षण गर्ने, एकीकरण अभियान क्षेत्रको प्राकृतिक सम्पदा र वातावरणको संरक्षण तथा संवर्धन गर्ने, एकीकरण अभियान क्षेत्रमा रहेका प्राचीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थललाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यक्षेत्र समितिको हुनेछ । समितिमा सङ्घीय सरकारले नियुक्त गर्ने अध्यक्ष, प्रतिस्पर्धाका आधारमा नियुक्त हुने कार्यकारी निर्देशक, सम्बन्धित क्षेत्रका विज्ञसहितका मनोनीत र सम्बन्धित पालिकाका प्रमुखसमेत सदस्य रहने प्रस्ताव गरिएको छ ।

समितिले एकीकरण अभियान क्षेत्रमा समयसमयमा भाषिक, ऐतिहासिक, धार्मिक, शैक्षिक तथा सांस्कृतिक महत्वका सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने, एकीकरण अभियानसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाबीच आवश्यक समन्वय गराउने र देवीघाट क्षेत्रलाई शाहको पवित्र समाधिस्थल ९राजघाट० का रुपमा विकास गर्ने जिम्मेवारी पनि पाउने जनाइएको छ । एकीकरण अभियान क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय तहको लगानीमा दृश्वावलोकनस्तम्भ र मदन भण्डारी उद्यान आदि पूर्वाधार विकास हुनेछन् ।
विसं २०७० वैशाख १ र २ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आयोजनामाा नुवाकोटको रानीपौवाबाट चिम्टेश्वर हुँदै देवीघाटसम्मको पदयात्रा गरिएपछि यस क्षेत्रको पर्यटकीय महत्व प्रकाशमा आउन थालेको हो । उक्त पदयात्राका क्रममा वर्तमान प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाललगायत सहभागी भई चिम्टेश्वर मन्दिरमा एक रात विश्राम गरेका थिए ।

नुवाकोट आक्रमणको पहिलो किल्लाका रुपमा चिनिएको चिम्टेश्वर मन्दिरमा नौ वर्षदेखि पूजाआजा सञ्चालन गर्दै आएकी टोपकुमारी पुडासैनीले सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकाले सो स्थलको नाम चिम्टेश्वर रहन गएको श्रीस्वस्थानी कथामा उल्लेख भएको बताए । अर्को किवंदन्तीअनुसार महादेव समुद्र मन्थनपछि पिइएको कालकूट विषको डाह शान्त गर्न उत्तरापन्थ लाग्दा थकाइ लागेपछि विश्रामका लागि सो स्थलमा बसेर हिँड्दा चिम्टा हराएकाले पनि सो स्थानको नाम चिम्टेश्वर रहेको मानिन्छ । चिम्टेश्वरमा बालाचर्तुदशी, हरितालिका, शिवरात्रि र वैकुण्ठ चतुर्दशीमा विशेष पूजा र मेला लाग्छ । मन्दिर व्यवस्थापनका लागि हालसम्म सरकारी संयन्त्र नभएकाले आयव्ययको व्यवस्थित हिसाब देखिँदैन । यहाँ चढाइने भेटी केटाकेटी वा जोसुकैले टिप्ने र बचेको पुजारीले लिने गरेको पाइएको छ ।

बेलकोटगढी नगरपालिका–१ का वडा सदस्य प्रकाश सापकोटाले हालै सरकार र पालिकाको रु तीन करोड ७५ लाख लगानीमा मन्दिरमा आउने भक्तजनका लागि सिँढी निर्माण र केन्द्र सरकारले विकास समिति गठन गर्न आरम्भ गर्नु सकारात्मक भएको बताए । पासाङल्हामु मार्गको ‘३४ किलो’ भनिने सिस्नेरीबाट करीब ११ किलोमिटरको कच्ची मोटरबाटो पार गरेपछि पुग्न सकिने चिम्टेश्वरबाट १३ हिमाल र १५ जिल्ला देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्र मानिएको छ । वनभोज तथा मनोरञ्जनका कार्यक्रम आयोजना गराउन यो उपयुक्त र रमणीय स्थान रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्