Logo

पदयात्रा र घरबासमार्फत पर्यटक तान्दै पोखराको उल्लेरी गाउँ



गण्डकी, १४ वैशाख । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो उल्लेरी । पोखरा महानगरपालिका–२२ स्थित यो गाउँ प्रकृति र संस्कृतिले सम्पन्न छ । बाहुन, क्षेत्री, गुरुङ, दलित आदि जातजाति मिलेर बसेको यो गाउँबाट देखिने मनमोहक हिमश्रृङ्खला तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ ।

सम्भावना भएर पनि गाउँ पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो दुई दशकयता यहाँका स्थानीयले पूर्वाधार विकाससँगै पर्यटकमैत्री संरचना निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाएका छन् । गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम एवं सभासम्मेलन गर्नका लागि लगभग २० वर्ष अघि समाज घर स्थापना गर्दै यहाँका स्थानीयले सांस्कृतिक गतिविधिलाई पनि अघि बढाउँदै आएका छन् ।

पोखरा नजिकको राम्रै पर्यटकीय गन्तव्यका रुपमा गाउँको विकास गर्न सकिने अवस्थालाई दृष्टिगत गरी गत वर्षदेखि यहाँका चार वटा घरमा घरबास सञ्चालन गरिएको उल्लेरी सामुदायिक होमस्टेका सचिव दुर्गाबहादुर गुरुङले जानकारी दिए ।

होमस्टेमा आउने पर्यटकका लागि स्थानीय प्राङ्गारिक उत्पादनका परिकार खुवाउने गरिएको उहाँले बताउनुुभयो । घरबासमा आउने पर्यटकलाई बेलुका आउनासाथ मकै, भट्ट आदिको खाजाका साथै बेलुकाको खाना र विहान नास्ता गरी प्रतिव्यक्ति प्याकेजमा रु एक हजार लिने गरिएको उनले बताए । यहाँ आउने पर्यटकले गाउँमाथि रहेको थाप्लोमा पुगी टाढाटाढासम्मको हिमाल तथा पहाडी विभिन्न दृश्य एकसाथ अवलोकन गर्न पाउने अर्का स्थानीयवासी जीतबहादुर गुरुङले बताए ।

समुद्री सतहदेखि करिब दुई हजार ५६ मिटर उचाइमा रहेको यस ठाउँलाई थाप्ले टाइगर हिलका रुपमा लिँदै यसको प्रवद्र्धन र विकासमा स्थानीयवासीले सक्रियता देखाएको स्थानीय समाजसेवी मीनप्रसाद लामिछानेले बताउनुभयो । थाप्ले स्थानीयको धार्मिक आस्था र विश्वासयुक्त तीर्थस्थल हो । जनविश्वास अनुसार यहाँ एक जना सिद्ध बाबाले कुटी स्थापना गरी तपस्याका माध्यमबाट ज्ञान प्राप्त गरेका थिए । यहाँ बुद्ध जयन्तीका दिन विशेष पूजाआजा गरिन्छ । मनोकांक्षा पूरा हुने विश्वासका कारण यहाँ पुग्ने सर्वसाधारणले घण्टी र ध्वजा चढाउने गर्दछन् ।

थाप्लेबाट पोखरा मात्र नभै लमजुङ, गोरखा, पाल्पालगायत स्थान एक साथ अवलोकन गर्न सकिन्छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्करलगायतका हिमाली दृश्यका साथै पञ्चासेको लेक र पाल्पासम्मका दृश्यले जो कोहीलाई लोभ्याउने गरेको थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङले बताए ।

थाप्लेमा कास्की र स्याङ्जाका उल्लेरी, गलेम, ढाबा, भुम्दी र मकवानपुर आदि स्थानका सर्वसाधारण श्रद्धा र विश्वासका साथ पूजाआजा गर्न आउँछन् । यो ठाउँ प्याराग्लाइडिङको साथै उल्लेरी–भुम्दी–गलेम टोर्के हुँदै पदयात्रा एवं हाइकिङको पनि उत्तिकै सम्भावनायुक्त छ । रासस



प्रतिक्रिया दिनुहोस्