Logo

कोभिड त्रासले पर्वतका सबै विद्यालय बन्द



पर्वत, १५ बैशाख । कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को समन्वयमा पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।

जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण देखिएको र छिमेकी नगरका विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको लक्षण देखिएकाले नगरपालिकाले वैशाख १७ गतेसम्म नगरअन्तर्गतका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार कोरोना सङ्क्रमण बढेका कारण विद्यालय बन्दको अवधि बढ्नसक्छ । उनले चैत १७ गतेसम्मको अवधिमा देखिने प्रभावलाई मूल्याङन गर्दै नगरपालिकाले थप निर्णय गर्ने बताए ।

छिमेकी जिल्ला बागलुङमा धमाधम विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जलजला गाउँपालिकाले भौतिक उपस्थितिमा पठनपाठन अनिश्चितकालका लागि बन्द गरेको छ । वैशाख १३ गतेदेखि पालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयलाई भुर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनले पठनपाठनसँगै परीक्षासमेत स्थगन गरिएको बताए ।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले वैकल्पिक माध्यमवाट कक्षा सञ्चालन भइरहेको बताउनुभयो । उनले विद्यालय प्रशासन खुला भए पनि विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेको बताए । फलेवास नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाअन्तर्गत सम्पूर्ण विद्यालय वैशाख २१ गतेसम्म बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहादीले वैशाख २२ गतेसम्म र मोदी गाउँपालिकाले वैशाख १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय जनाएका छन् ।

यता महाशिला गाउँपालिकाले भने नियमितरूपमा कक्षा सञ्चालन गरिएको बताएको छ । गाउँपालिका प्रवक्ता जीवन उच्चै ठकुरीले विद्यालयमा सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरेको प्रतिक्रिया दिए । उनले आइतबारदेखि दुई चरणमा वार्षिक परीक्षा सञ्चालन गर्नेसमेत बताए । महाशिला गाउँपालिकामा कोरोनाको प्रभाव खासै नदेखिएकाले नियमितरूपमा विद्यालय सञ्चालन गर्ने उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्