Logo

आज रातो मच्छिन्द्रनाथको महास्नान



ललितपुर, १५ वैशाख । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान गर्न लगिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताए । उनले भने, “पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट आएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।” मुलुकमा दिनानुदिन बढ्दै गएको दोस्रो लहरको कोरोना कहरलाई ध्यानमा राखी आफूहरुले महास्नानमा सहभागी मानिसलाई विशेष रुपमा स्वास्थ्य सावधानी अपनाउन सुझाव गरिरहेको वलीको भनाइ छ ।

महास्नानका क्रममा मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काएर विभिन्न तीर्थका जल अर्पण गर्नाका साथै पञ्चामृत, फलफूल, घ्यू, सखर, दूध आदि चढाइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । उनले भने “आजकै दिनमा रथ निर्माणका लागि पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा गएर दुईजना मानिसले चार खम्बासमेत गाड्नेछन् ।”

काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ, यसैगरी पाटनमा पनि रातो मच्छिन्द्रनाथ रथजात्राको उत्तिनै ठूलो महत्व रहेको छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ ।

रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न दुई वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका तीनै शहरका मानिसका साथै विदेशी पर्यटकसमेत नेपाल आउने गर्थे तर गत वर्षबाट मुलुकमा देखिएको कोभिड त्रासका कारण रथजात्रामा सहभागी हुन असहज भयो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्