Logo

रौतहटवासीको डुबान समस्या यथावत्



वीरगञ्ज, १५ वैशाख । रौतहटको वाग्मती र लालबकैया नदीमा रहेको बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबान समस्याको त्रास यथावत् रहेको छ । उक्त दुवै नदी नियन्त्रण गर्न भारत सरकारले बनाएको बाँधहरु ठाउँठाउँमा भत्किएकाले समयमा सो नदीको बाँधको मर्मत हुन नसक्दा वर्षायाममा नदीको पानी बस्तीमा पसेर क्षति पु¥याउने डरले रौतहटवासीमा त्रास कायमै छ ।

वाग्मती—लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका अनुसार सो बाँधको समयमा मर्मत नहुँदा डुबान र क्षति हुने भन्दै करीब डेढ महिना अगाडि सो कार्यालयले अर्थमन्त्रालयसँग बजेट माग गरेको बताउँदै सो कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले राससलाई भने, “वाग्मती नदीको बायाँतर्फ चार र दायाँतर्फ १० गरी १४ स्थानमा बाँध भत्किएको छ ।

यसैगरी, पश्चिमी लालबकैया नदीको बायाँतर्फ सात र दायाँतर्फ आठ गरी १५ स्थानमा भत्किएकाले तत्काल मर्मत गर्नुपर्ने देखिन्छ । समयमा सो बाँध मर्मत नहुँदा वर्षामा रौतहट डुबानमा पर्ने त्रास रहेको त्यहाँका बासिन्दाको भनाइ छ । सो बाँध समयमा मर्मत गर्न सकिएन भने बाढीको बेला ठूलो समस्या निम्त्याउने त्यहाँका बासिन्दाको भनाइ छ ।

भारत सरकारले सन् १९८९ मा झण्डै साढे ३३ किलोमिटर बाँध बनाएको थियो । उक्त बाँधले बस्ती जोगाए पनि पछिल्लो समय सो बाँधको मर्मतसम्भार हुन सकेको छैन । पुरानो बाँध भएकाले कमजोर हँुदै ठाउँठाउँमा भत्किन थालेको छ । वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । सो बाँध मर्मतसम्भार गर्न करीब रु ४१ करोड ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

समयमा उक्त बाँधहरु मर्मतसम्भार नभएको खण्डमा वर्षायाममा रौतहटको लक्ष्मीपुर, बलुवा, धरमपुर, गम्हरिया, सग्रामपुर, गढी सिगारमन, गङ्गापिपरा, माघोपुर लगायतका दर्जनौँ गाउँ बाढीको जोखिममा पर्न सक्नेछन् । २०५० सालमा सो नदीमा बाढी आएपछि रौतहट डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँधहरु मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्