डा. अधिकारीमाथि अवसरवादी बनेको आरोप, मन्त्री बन्नकै लागि माधव र वामदेवलाई धोका दिए


काठमाडौं, १५ बैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले नेकपा (एमाले) का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुल्े आजै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका भएका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

पाण्डे,नेपाल र बस्नेत मन्त्री बन्नु स्वभाविक हो । तर, डा. अधिकारी मन्त्री बनेकोमा एमालेभित्रै चर्चाको विषय बनेको छ । डा. अधिकारीलाई अवसरवादी नेताको रुपमा चित्रण गरिन थालेको छ । अधिकारी धादिङबाट निर्वाचित सांसद हुन् । एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा छन् । उनी सुरुमा माधव नेपाल पक्षधर नेताको रुपमा परिचित थिए ।

उनलाई सांसद बनाउनको लागि माधव नेपाल र वामदेव गौतमले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पुष ५ गतेको संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि उत्पन्न राजनीतिक परिदृश्यमा भने उनी एकाएक कित्ताकाट गर्न सफल भए ।

केही समय वामदेवको एकता अभियानमा पनि लागेका अधिकारी पछिल्लो समय मन्त्री बन्नकै लागि माधव नेपाल र गौतमको साथ छोडेर ओली क्याम्पमा पुगेका छन् । नभन्दै उनी आज राज्यमन्त्री बने । धादिङवासीले पनि डा. अधिकारीलाई अवसरवादी नेताको रुपमा चित्रण गर्न थालेका छन् ।