Logo

‘लकडाउन’मा के गर्न पाइन्छ, के पाइँदैन?



काठमाडौं, बैशाख १६ ।कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न राजधानीमा आजदेखि लकडाउन सुरु भएको छ । लकडाउनको अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आम नागरिकलाई प्रशासनले आग्रह गरेको छ ।

साथै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन नगर्नसमेत सरकारले कडिकडाई गरेको छ ।

आजदेखि बैशाख २२ गतेसम्म काठमाडौं उपत्यका भरमा सार्वजनिक एवं निजी सवारी साधनलाई रोक लगाइएको छ । उपत्यका बाहिरबाट आउने अत्यावश्यक सेवा बाहेकका सवारी साधनमा समेत राजधानी प्रवेशमा कडिकडाई गरिएको छ ।

विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहादुलहीसहितका)ले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर सो कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी पास लिनुपर्नेछ ।

विवाह÷व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।



प्रतिक्रिया दिनुहोस्