Logo

महेश बस्नेत हिजो पोखरा पुगेका थिए ?



काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेत हिजो पोखरा पुगेको चर्चा चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय भएकै दिन उनी पोखरा पुगेको विषयले चर्चा पाएको छ ।

बस्नेत भने आफ्ना पिताको उपचारका क्रममा काठमाडौंमै थिए । उनको प्रदेश सांसद राजीव पहारीसँगको तस्बिर समेत सार्वजनिक भएको छ । पहारीले भने बस्नेतसँग तीन हप्ता अघि खिचिएको तस्बिर भएको बताए । उनले रिपोर्टर्स नेपालसँग भने,‘हामीले तीन हप्ता अघि खिचेको तस्बिर हो त्यो ।’

बस्नेतमाथि अविश्वासको प्रस्ताव असफल बनाउन भूमिका खेलेको समेत आरोप छ । जनमोर्चा सांसद खिमविक्रम शाही अचानक वेपत्ता भएर एकैपटक चिरक अस्पतालमा भेटिनुमा उनको भूमिका रहेको विषय उठाइएको छ ।

विगतमा तत्कालीन समाजवादी पार्टी विभाजन गर्न सांसद नै अपहरण गर्न खोजेको आरोप बस्नेतमाथि थियो । यसकारण पनि बस्नेत पोखरा पुगेको हल्ला चल्न पुग्यो ।
यसैगरी, चिरक मेमोरियल अस्पतालमा एमाले सांसद राजीव पहारीको समेत संलग्नता देखिएको विषय बाहिर आएको छ । तर, पहारीले आफ्नो कुनै संलग्नता नभएको बताए । उनकी पत्नी चिरक नर्सिङ्ग कलेजमा संलग्न छिन् । उनले भने,‘चिरक अस्पताल र चिरक नर्सिङ्ग कलेजबीच कुनै सम्बन्ध छैन ।’

यसैगरी, अस्पतालमा खिमविक्रम शाही कोभिड आइशोलेशन आइसिइयू वार्डमा उपचाररत छन् । जनमोर्चाले सांसद शाहीको अवस्था सार्वजनिक गर्न सरकारसँग अनुरोध गरिसकेको छ । लगत्तै शाहीले विज्ञप्तिमार्फत् आफू संसद आउनलाग्दा स्वास्थ्यमा समस्या भई उपचारका लागि अस्पताल जाने क्रममा बेहोश भएको जानकारी दिएका छन् । उनले पार्टीको निर्देशन बमोजिम अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने समेत स्पष्ट पारेका छन् ।

हिजो सांसद शाहीको अवस्था नखुलेपछि जनमोर्चाको निवेदनका आधारमा प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्