Logo

बजारमा बढ्यो खाद्यान्न सामान जोहो गर्नेको भीड



रौतहट, बैशाख १७ । लकडाउन हुने आशंकामा खाद्यान्न तथा मरमसाला जोहो गर्नेहरुले गर्दा बजारमा भीडभाड भएको छ । गत वर्षको जस्तै लकडाउन हुँदा अप्ठ्यारो पर्ने सम्भावना रहेको भन्दै ग्राहकहरु घरायसी प्रयोजन तथा भान्छाका सामल किन्न बजारमा ओइरिएका हुन् ।

सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको र रौतहटमा पनि कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको सन्दर्भमा स्थानीयबासीमा लकडाउन वा निषेधाज्ञाको आशंका बढेर गएको हो । लकडाउनको समयमा घरकै सामान व्यवस्थापनमा समस्या देखिने हुनाले सर्वसाधारणले बजारबाट दाल, चामल, लामो समयसम्म टिक्ने गेडागुडी तथा तरकारी, साबुन, तेल लगायतका सामग्री जोहो गर्न थालेका हुन् । यसरी सामान जोहो गर्ने प्रवृत्ति बढ्दा बजारमा भीडभाड बढेको हो ।

घरायसी प्रयोजनको सामान किन्नेको संख्या ह्वात्तै बढेकाले बजारमा खाद्यान्न लगायत विभिन्न सामग्रीको मूल्य वृद्धि भएको गुनासो पनि आएको छ । बजारमा सामानको मूल्य अचाक्ली बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्