Logo

सवारी साधन र मानवीय आवागमन कडिकडाई गर्न गृहको निर्देशन



काठमाडौं, बैशाख १७ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।

बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो । केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।

प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।



प्रतिक्रिया दिनुहोस्