Logo

जुम्लामा सङ्क्रमित बढे, स्थानीय तहमा छैनन् क्वारेन्टिन



–विजय रावत खलङ्गा, १७ वैशाख : देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिइरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीयवासी पनि घर फर्किंदैछन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको छ । भारतमै यो महामारीको भयावह अवस्था छ तर त्यहाँबाट फर्किनेहरुलाई नेपाल छिरेपछि निगरानी एवं स्वास्थ्य जाँचको व्यवस्था हुन सकेको छैन ।

जुम्लाबाट कति नागरिक रोजगारीका लागि भारत जान्छन् भन्ने यकिन तथ्याङ्क त छैन तर यहाँका करीब ६० प्रतिशत नागरिक भारत जाने गरेको अनौपचारिक तथ्याङ्क रहेको स्थानीय जानकारहरुको भनाइ छ । तीमध्ये पनि यतिखेर अधिकांश स्वदेश फर्किने गरेका छन् । भारतमा अहिले कोरोना भाइरसको महामारी निकै बढेकाले जुम्लीहरु पनि घर फर्किन थालेका हुन् ।

उनीहरु त्यहाँबाट ससिधै घर आउने गरेका छन्, बाटोमा कुनै स्वास्थ्य जाँच या रोकावट छैन । ती स्थानीयवासीलाई राख्न यहाँका स्थानीय तहले क्वारेन्टिनको व्यवस्था र कोरोना जाँचमा कुनै पहलसमेत गरेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा क्वारेन्टिन या आइसोलेशन केही छैनन् । यसका कारण यहाँका स्थानीयवासीमा त्रास पनि फैलिएको छ । भारतबाट आउने आफ्नै दाजुभाइबाटै महामारी सर्नसक्ने भन्दै स्थानीय नागरिक डराएका छन् । यहाँको स्थानीय प्रशासनले पनि यसमा कुनै पहल गरेको छैन ।

पोहोर साल निर्माण गरिएका क्वारेन्टिन र आइसोलेशन कक्षहरुको जतन नहुँदा भताभुङ्ग अवस्थामा छन् । यहाँको स्थानीय प्रशासन र स्थानीय तहले महामारी शुरु भएको अघिल्लो वर्ष क्वारेन्टिन निर्माण गरेका थिए । कोरोनाको सङ्क्रमणलाई नियन्त्रण र रोकथामका लागि निर्माण गरिएको पुरानो संरचना सबै लथालिङ्ग हुँदा पनि हेर्ने कोही नभएको जुम्लावासीको गुनासो छ । उनीहरु कि पुरानो संरचनालाई जोगाएर राख्नुपथ्र्याे नत्र अहिले बनाउनुपर्छ भनेर आवाज उठाएका छन् ।

अहिले कोरोना भाइरसको दोस्रो लहर आएकाले देशका धेरै क्षेत्रमा महामारी फैलिएको छ । कतिपय जिल्लाहरुमा निषेधाज्ञा लागू भएका समाचारहरु पनि आएका छन् । तर पनि जुम्ला जिल्लामा भने आजको मितिसम्म पनि यसबारेमा केही सोचिएको छैन । स्थानीय तहका प्रमुखसँग यस विषयमा जिज्ञासा राख्दा बजेट अभाव भएको बताउने गरेका छन् । पहिले जिल्लाका आठवटै स्थानीय तहले पाँच श्ययाका अस्थायी कोभिड अस्पताल बनाएका थिए । अहिले ती अस्पतालमा नै आइसोलेशन सञ्चालन गरेका छन् । तर सो अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव रहेको बताइएको छ । कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याए पनि कार्यालय सहयोगी र स्टाफ नर्सको भरमा रहेका छन् ।

यी अस्पतालहरुमा पनि आवश्यक मेडिकल अधिकृत वा चिकित्सकको अभाव छ । यहाँका स्थानीय तहले पटक पटक चिकित्सकको विज्ञापन आह्वान गरे पनि कसैको आवेदन नपरेको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।

जोखिम बढ्दा लापरबाही भने उस्तै

जुम्लामा कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । भारतबाट घर फर्किएकाहरु सिधै समुदायका व्यक्तिसँग घुलमिल हुने गरेका छन् । जिल्लामा १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपचारका लागि आउने धेरै व्यक्तिले मास्कसमेत नलगाएको स्थानीयवासी बताउँछन् ।

शहर बजार, ग्रामीण बस्तीका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था वा अन्य सार्वजनिक कुनै पनि ठाउँमा जाँदा सेवाग्राहीहरु तथा अन्य कर्मचारीहरु समेतले मास्कको प्रयोग नगरेको पाइन्छ । पहिला भारतबाट आएकाहरुलाई विभिन्न विद्यालयका क्वारेन्टिन र आइसोलेशन कक्षहरु बनाएर राख्ने गरेका स्थानीय तहहरुले यसपालि भने चासो दिएका छैनन् ।

सचेत गराउँदै प्रहरी

जुम्लामा पनि कोरोनाको दोस्रो लहरको भाइरस बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय जुम्ला स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलङ्गाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दानबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “डिएसपीको नेतृत्वमा निस्किएको टोलीले सदरमुकाम खलङ्गाको विभिन्न ठाउँ तथा सडकमा निस्किएर माइकिङ गरेको छौँ । नेपालगञ्ज, सुर्खेतलगायतका जिल्लामा कोरोना सङ्क्रमण उच्च रहेकाले समयमै जुम्लावासीलाई सचेत गरेका छौँ । कोरोना कसैलाई सोधेर नलाग्ने भन्दै कोराना लागेर उपचार खोज्ने या सतर्कता अपनाउने भन्दा पनि लाग्न नदिने उपाय अवलम्बन गर्नु बुद्धिमानीपूर्ण हुनेछ भनी हामीहरुले नागरिकलाई सचेत गराएका छौँ ।”

प्रहरीले घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन भन्दै सार्वजनिक रुपमा सबैलाई सचेत गराएको छ । साथै २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न आग्रह गरिएको डिएसपी थापाले बताउनुभयो ।

समयमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट निस्किएको टोलीले हरेक दिन यस्तै माइकिङ गर्दै पूरै बजार परिक्रमा गर्ने गर्दछ । साथै सो टोलीले स्वास्थ्यका मापदण्ड पालना नगर्ने स्थानीयवासीलाई कडा कारबाही गरिने चेतावानी पनि जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको छ ।

सदरमुकाम खलङ्गा बजारमा सञ्चालनमा रहेका पसलमा अनिवार्य रुपमा सामाजिक दूरी कायम गरेर मात्र बेचबिखन गर्न भनिएको छ । प्रहरीले कोरोना भाइरसको लक्षण देखिने बित्तिकै नजीकैको स्वास्थ्य संस्था, आइसोलेशन श्यया तथा क्वारेन्टिमा सम्पर्क राख्न पनि सुझाव दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कोरोना सङ्क्रमित बढ्दै

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिनाका साथै कोरोनाकै कारण मृत्यु पनि हुन थालेपछि नागरिकमा त्रास फैलिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँड्डुल तथा आवतजावतमा भीड हुन नदिन कडाइ गरेका छन् ।

कोरोना सङ्क्रमण अत्यधिक प्रभावित भएको भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट सङ्क्रमण बढ्ने सम्भावना अत्यधिक रहेकाले गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको छ । यद्यपि, सङ्क्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाँल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका सङ्क्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले जानकारी दिए । “यो एक÷दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल सङ्क्रमण दर जान सकेको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमितहरुले अस्पताल भरिभराउ हुन थालेको छ । यो आपत्कालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।” उहाँका अनुसार कर्णालीमा बुधबार एकैदिन ३११ कोरोना सङ्क्रमण थपिएका छन् । जिल्लामा आइसियु ३५ र भेन्टिलेटर पनि आवश्यकता अनुसार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उपकरण सञ्चालन गर्ने जनशक्ति भए १०० वटा आइसियु पनि सञ्चालन गर्न सकिने बताउनुभयो ।

केही दिनमै अस्पतालको नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उनको भनाइ छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४३ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २१५ जना सुर्खेतका मात्र छन् । निर्देशनालयका अनुसार सङ्क्रमितमा दैलेखका ३२, सल्यानका २९, कालीकोटका १०, रुकुम पश्चिमका नौ, जुम्लाका १३, जाजरकोटका सात, डोल्पाका एक र अन्य प्रदेशका तीनजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कूल सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ८९५ पुगेको छ ।

कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । हालसम्म कर्णालीमा पिसिआरबाट ९९ हजार २९८ र एन्टिजेन्ट विधिबाट छ हजार ४६० जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पाँचजना डिस्चार्ज हुँदा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात हजार ५३८ रहेको छ । प्रदेशभरि गरेर पछिल्लो २४ घण्टामा २३० कोरोनाका बिरामी आइसोलेशनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका सङ्क्रमितहरुको अवस्था अझ बढी गम्भीर रहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्