Logo

मुख्यमन्त्री पौडेलद्वारा ‘भेन्टिलेटर’ र ‘आइसियू’ कक्षको शुभारम्भ



मकवानपुर, १७ वैशाख: वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापना गरिएको कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलाई उपचार गर्ने (सघन उपचारकक्ष) आइसियू र भेन्टिलेटर कक्षको आज शुभारम्भ गरेका छन् ।

उक्त उपचार कक्षमा आज दिउँसो १ः०० बजेबाट बिरामी भर्ना गरी उपचार सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ । मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि राखिने क्यारेन्टिन कक्षको पनि आजै अनुगमन गरे । उक्त कक्षमा १२० श्ययाको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमित बिरामीलाई तत्काल उपचार गर्ने आइसियू, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मी उच्च प्राथमिकताका साथ उपलब्ध गराइ तथा उपचार सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन चिकित्सकलाई निर्देशन दिए ।

उक्त प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालको परिसरभित्र छुट्टै कक्षको व्यवस्थापन गरी आइसियूतर्फ १६ श्यया र भेन्टिलेटरतर्फ छ श्ययाको स्थापना गरिएको डा सागर काफ्लेले बताए । उनका अनुसार यसअघि नै सो अस्पतालको कक्षमा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचार गर्न १० आइसियू श्ययाको स्थापना गरी ती बिरामीलाई चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्