Logo

भारतबाट फर्किएका सङ्क्रमित राख्न छुट्टै आइसोलेशन



राँझा, १७ वैशाख: भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताए ।

उनका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । होम आइसोलेशनको असुविधा भएका नगरवासी र बाहिरी जिल्लाका सङ्क्रमितलाई सेवा दिइने छ ।

ह्वाइट हाउस आइसोलेशन सेन्टरबाट यही वैशाख ४ गतेदेखि हालसम्म ५७ सङ्क्रमितले सेवा पाएको आइसोलेशन सेन्टरका स्वास्थ्य स्रोत व्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिए । आजसम्म यहाँ बाहिरी जिल्लाका २५ जनासहित ४१ रहनुभएको छ । यो आइसोलेशनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरी श्ययाको व्यवस्था मिलाइएको छ ।

कोभिड सङ्क्रमित भएपछि होम आइसोलेशनको सुविधा नभएका नगरवासीले ह्वाइटहाउस आइसोलेशनबाट सेवा लिइरहेका छन् । यो सेन्टरमा सामान्य अवस्थाका कोभिड सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताए ।

उनका अनुसार लक्षणका बिरामीलाई राख्नका लागि उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालीम केन्द्रमा ५० श्ययाको अक्सिजनको आइसोलेशन सेन्टर आज दिउँसोदेखि सञ्चालनमा ल्याएको छ । आइसोलेशनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरिएको छ । यसैगरी बिरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ । उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेशन स्रोत व्यक्तिको सिफारिसका आधारमा सङ्क्रमितलाई राखिने भएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्