Logo

चार प्रतिशतको आर्थिक वृद्धि अवास्तविक प्रक्षेपण



काठमाडौं, बैशाख १८ । पछिल्लो समय कोभिड–१९ को दोस्रो लहरले बढी प्रभाव नपार्ने आकलन गर्दै केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत हाराहारीमा हुने प्रक्षेपण गरेको छ। गत वर्ष सुरु भएको कोभिडको पहिलो भन्दा दोस्रो लहर बढी खतरनाक देखिएको छ। सरकारले कोभिड भाइरसको चेन बे्रक गर्न अहिले नै मुलुकका २० जिल्लाभन्दा बढीमा १५ दिने निषेधाज्ञा लगाइसकेको अवस्था छ। संक्रमण र मृत्युको दर पनि पहिलेको भन्दा बढी भइसकेको छ। स्वास्थ्यविद्ले आगामी दुई–तीन महिनामा संक्रमण अझै उच्च हुने बताइसकेका छन्।

यस्तो अवस्थामा चालु आवका बाँकी दिनमा न त पुँजीगत बजेट खर्च हुने अवस्था छ न त अन्य आर्थिक गतिविधि बढन सक्ने आधारहरू छन्। तर विभागले भने आगामी दिनमा खासै प्रभाव नपर्ने आकलन गर्दै आर्थिक वृद्धि आधारभूत मूल्यमा ३।९८ प्रतिशत हुने प्रक्षेपण गरेको छ। चालु आवमा अहिलेसम्मको अर्थतन्त्रको विस्तारलाई हेरेर विभागले शुक्रबार गरेको यो प्रक्षेपण मिल्ने देखिँदैन। विभागका अधिकारीहरू पनि आगामी दिनमा समस्या आए अनुमान गरिएको वृद्धिदर हासिल हुन नसक्ने स्वीकार गर्छन्। चालु आवको आठांै महिनाको आर्थिक क्रियाकलाप हेर्दा यो वर्ष आर्थिक वृद्धि करिब ४ प्रतिशत हुने अनुमान गरिएको तथ्यांक विभागका निर्देशक गणेशप्रसाद शर्माले बताए ।

कोभिडको दोस्रो भेरियन्टले मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञा लम्बिएर आर्थिक क्रियाकलाप अहिलेको भन्दा निकै खराब अवस्थामा गए वृद्धिदर घट्न सक्ने अनुमान गरिएको उनले बताए। ‘अहिले कोभिडले सामान्य प्रभाव पार्ने आकलन गरिएको छ,’ निर्देशक आचार्यले नागरिकसँग भने, ‘कोभिडको असर लम्बिएर आर्थिक क्रियाकलाप ठप्प भए आर्थिक वृद्धि घट्न पनि सक्छ ।’

कोभिडको दोस्रो लहरले कतिसम्म असर पारिसकेको छ भन्ने थाहा पाउन एउटै उदाहरण पर्याप्त छ। सरकारले राष्ट्रिय गौरवको आयोजनामा पारेको भेरी बबई सिंचाइ आयोजनाले शुक्रबार कोभिडका कारण यो वर्ष काम हुन नसक्ने देखिएको भन्दै बोलपत्र रद्द गरेको सूचना जारी गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot