Logo

हिलोको फूल



पोस्तक श्रेष्ठ :

बिना उद्देश्य हिँड्दाहिँड्दै जमल पुगेछु । थकाइ लाग्यो । एउटा ट्याक्सी रोकेँ ।
‘भाइ, खाली हो ?’
‘हो, बस्नुस् ।’
यो ड्राइभर अलि फरक रहेछ । सुरुमै कहाँ जाने भनेर सोधेन र भाडा यति लाग्छ भनेर गजक्क पनि परेन । अघिल्तिरको सिटमै बसेँ । त्यसपछि भने उसले सोध्यो ।
‘कहाँ पुर्याइदिऊँ, दाइ ?’

हरेक दुई–तीन वर्षमा नेपाल गइरहेको हुन्छु । काठमाडौँमा चिनेजानेका त धेरै छन् तर खास साथी धेरै छैनन् । भएका केही साथीहरू पनि व्यस्त हुन्छन्, भेट्नै गाह्रो । त्यही भएर कतिपयलाई त नेपाल आएको खबर गर्नै छाडिदिएको छु । कामको बेलाबाहेक एक्लै–एक्लै गल्ली, चोक र सडकमा भौँतारिन्छु । हिँड्दाहिँड्दै थकाइ लाग्यो भने चाहिँ ट्याक्सी चढ्छु । यहाँको जीवनलाई नियाल्छु । नाङ्लोमा सुपारी, छुर्पी, चुरोट राखेर बेच्न बसेका महिलाहरू, साइकलमा फलफूलको टोकरी बोकेका घुमन्ते व्यापारीहरू र उनीहरूसँग मोलमोलाइ गरिरहेका रैथानेहरू, सडकपेटीमा तन्ना ओछ्याएर सस्ता लुगा बेच्न बसेका सडक व्यापारीहरू, एउटा स्टोभ र थर्मस लिएर सडकमा चिया बेच्न बसेका महिलाहरू, ग्राहक नपाएर त्यत्तिकै उङेर बसेका रिक्साचालकहरू, हतार–हतार कार्यालय जान निस्केका कर्मचारीहरू, बच्चालाई स्कुल पुर्याउन हिँडेका आमाहरू सबैलाई नियाल्छु । उनीहरूको जीवन बुझ्ने प्रयास गर्छु । प्रायः हतारमा देखिन्छन् । सबैलाई कहीँ न कहीँ पुग्नु छ । केही न केही काम छ । यो सहर पहिले पनि यत्तिकै व्यस्त थियो र अहिले पनि उत्तिकै व्यस्त छ ।

‘मेरो जाने ठाउँ कहीँ छैन भाइ । हिँड्दा–हिँड्दा थकाइ लाग्यो र तपार्ईंलाई रोकेको । बस्, एक घन्टाजस्तो यताउति घुमाइदिनूस् अनि ठमेलतिर छाडिदिनूस् ।’
उसले मलाई पुलुक्क हेर्यो । सायद ऊ उल्झनमा पर्यो । कस्तो अनौठो ‘प्यासेन्जर’ परेछ भन्ने सोच्यो होला । तर, केही बोलेन । अनि मिटर चालु गर्यो र गाडी अघि बढायो । एकछिनमा केही कुराकानी सुरु गरेँ । उसको नाम नहकुल रहेछ । गोरखा जिल्लाको कुनै गाउँबाट आएको । ट्याक्सी चलाउन थालेको तीन–चार वर्ष भएको रहेछ । ऊ गम्भीर देखिन्थ्यो । कम बोलिरहेको थियो । मैले सोधेको जति मात्र जवाफ दिइरहेको थियो ।
उसले मैले भनेझैँ गाडी कहिले दायाँ मोड्यो, कहिले बायाँ । कतै–कतै जाममा परियो तर मलाई कहीँ पुग्नु थिएन । कुनै हतार पनि थिएन । त्यस कारण जता गइदिए पनि भयो, कस्तो मज्जा !

अलि साँझ पर्न लागेपछि उसले भन्यो, ‘अब फर्किने कि दाइ ?’
‘हुन्छ ।’ मैले मञ्जुर गरेँ ।
‘भाइको परिवार छ ?’
‘छैन ।’
‘ए त्यसो भए मसँगै खाना खानुहुन्छ ?’

उसले मेरो अनुहारमा एकछिन ट्वाल्ल हेर्यो । ऊ छक्क परेको मैले सजिलै अनुमान लगाएँ । अलि अप्ठ्यारो महसुस गरेजस्तो पनि लाग्यो । सायद कुनै प्यासेन्जरले पहिला खाना खाएर जाऊँ भनेको थिएन होला । ममाथि केही आशङ्का पनि उठ्यो कि !

‘भाइ, अप्ठ्यारो मान्नु पर्दैन । म भोलि अमेरिका फर्किंदैछु । मसँग समय बिताउने साथीहरू छैनन् । भएका केही साथी पनि धनसम्पत्ति, शक्ति र राजनीतिबाहेकका अरु कुरा गर्दैनन् । कसैसँग दम्भ छ भने कसैसँग कुण्ठा मात्र । झिँजो लागेर आउँछ । तपार्ईंसँग फुर्सद छ भने ‘कम्पनी’ दिनुहुन्छ कि भनेर हो ।’ मैले आफ्नो कुरो अलि प्रस्ट पारेँ ।

उसले एकछिन सोच्यो र बोल्यो, ‘हुन्छ, मेरो ग्यारेज नजिकै छ । गाडी त्यहाँ थन्क्याएर आउँछु नि त ।’

त्यसपछि हामी ठमेलको थकाली भोजनालयमा भेट्यौँ । साँझको चिसो अलि बढेको थियो । ह्विस्की र तातो पानी मागियो । ऊ ढङ्गले पिइरहेको थिएन । छिटो–छिटो पिउँदै थियो । बोत्तलबाट रक्सी निख्रिँदै गयो र हाम्रो वार्तालापले पनि गति लिँदै गयो । नहकुलले मेरा बारेमा केही प्रश्न गर्यो । धेरैजसो प्रश्न त मैले नै गरेँ । बेला–बेला ऊ एउटा कुरा दोहर्याइरहन्थ्यो ।

‘ट्याक्सी ड्राइभरसँग बसेर रक्सी खाने हजुरजस्तो प्यासेन्जर अहिलेसम्म भेटेको थिइनँ ।’ अनि ऊ बेजोडले हाँस्थ्यो ।
‘अनि बिहेचाहिँ किन नगरेको त नहकुल ?’

यो प्रश्नले भने उसलाई गम्भीर बनायो । सायद यसमा उसको कुनै दुःखको पाटो लुकेको थियो । उसले रक्सीको गिलास स्वाट्ट पार्यो । अनि बिस्तारै बोल्न सुरु गर्यो ।

दाइ, कथा लामो छ । तर, म काठमाडौँबाट सुरु गर्छु है । काठमाडौँमा एउटा साथी थियो । उसैले केही मद्दत गर्छ कि भन्ने आशामा आएको थिएँ । सोध्दै–खोज्दै उसको डेरामा पुगेँ । ऊ त त्यहाँबाट सरिसकेको रहेछ । मसँग उसको फोन नम्बर पनि थिएन । त्यही दिन माइक्रोबसमा कसैले मेरो पाकेट पनि मारिदियो । म बेखर्ची भएँ । यहाँ अरु मेरा कोही आफन्त थिएनन् । म बिचल्लीमा परेँ ।

माइक्रोबाट ओर्लेपछि म हिँड्न थालेँ । मेरो कुनै गन्तव्य थिएन । कदमहरू जता बढे, म त्यतैतिर गएँ । हिँडाइले लखतरान परेको थिएँ र भोकले चूर । काठमाडौँ मेरा लागि नयाँ थियो । यहाँका गल्ली र चोकहरू बिराना । कुन ठाउँमा छु भनेर थाहा पाउन पसल–कवलमाथि झुन्डिएका साइनबोर्ड हेर्थें । हिँड्दा–हिँड्दा जमल पुगेको रहेछु । थकाइ मार्न आकाशे पुलछेउ, सडकको पेटीमा भित्ताको अडेस लगाएर बसेँ । साँझ पर्न थालेको थियो । थकाइले गर्दा मेरा आँखाहरू लागेछन् । आँखा खुल्दा भीड अलि पातलो भइसकेको रहेछ । गाडीहरू कम गुड्न थालेका रहेछन् । अन्धकार बढ्दै थियो । सायद कृष्णपक्षको रात थियो । लोडसेडिङले होला, सडकका बत्तीहरू पनि बलेका थिएनन् । चकमन्न हुँदै गयो । पैदल हिँड्नेहरू फाट्टफुट्ट मात्र देखिन थाले । झ्याउँकीरीहरूको विरक्तलाग्दो रुवाइ पनि सुरु भयो । म आत्तिन थालेँ । कहाँ जाने, कसो गर्ने केही सोच्न सकिनँ । घर सम्झिएँ । घरको ओछ्यान सम्झिएँ । आमालाई सम्झिएँ । आमाले पकाएको तातो भात सम्झिएँ ।

हिँड्दा–हिँड्दा पैताला फतक्क गलेको थियो र भोकले पेटमा हुँडुलो मच्चाइरहेको थियो । त्यहाँबाट अन्त कतै जानुपर्यो भनेर उठेँ । त्यही बेला मेरो नजिक एउटा ट्याक्सी घ्याच्च रोकियो । ट्याक्सीको पछिल्तिरको झ्यालबाट एउटी युवतीले मुन्टो निकालिन् ।
‘एई, जाने हो ?’

अरु कसैलाई भनेको हो कि भनेर दायाँ–बायाँ, पछाडि हेरेँ । कोही देखिनँ । मलाई नै भनेकी रहिछ । चिन्नु न जान्नुकी केटीले सोधेकाले अलमल्ल परेँ । तैपनि सोधेँ ।
‘कहाँ ?’

त्यही बेला नजिकै प्रहरीको भ्यानको साइरन बज्यो । मैले केही भन्न नपाउँदै केटीले हत्तपत्त ट्याक्सीको ढोका खोलिन् र मलाई भित्र तानिन् । ड्राइभरले ट्याक्सी कुदाइहाल्यो । के भइरहेको छ ? मैले केही भेउ पाउन सकिनँ । अलिअलि डर पनि लाग्यो ।

युवतीको मुखबाट ह्वास्स–ह्वास्ती रक्सीको गन्ध आइरहेको थियो । केही अगाडि पुगेपछि ट्याक्सी रोकियो । प्रहरीको चेकिङ हुँदै रहेछ । रक्सी खाए–नखाएको ड्राइभरसँग सोधपुछ गरे । एउटा प्रहरीले हामी बसेको पछिल्लो सिटमा पनि टर्चलाइट बालेर हेर्यो ।
‘तिमीहरू को ?’ उसले कड्केर सोध्यो ।

म केही बोल्न खोज्दै थिएँ, युवतीले मेरो तिघ्रामा चिमोटी । म चुप लागेँ ।
‘म रेजिना, उहाँ मेरो श्रीमान् ।’ युवतीले जवाफ दिइन् ।

‘पार्टटाइम श्रीमान् कि फुलटाइम ?’ प्रहरी फेरि कड्क्यो । अर्को प्रहरी मज्जासँग हाँस्यो । तर, उसले ड्राइभरलाई जान सङ्केत गर्यो ।
म अलमलमा परेँ । कति सजिलै यो केटीले मलाई श्रीमान् बनाइदिई ? रहस्यको गाँठो कस्सिँदै गयो ।
‘हामी कहाँ जान लागेको ?’ मैले मुस्किलले सोध्ने हिम्मत गरेँ ।
‘तिम्रो कहीँ जाने ठाउँ छ ?’ युवतीले उल्टै प्रश्न गरिन् ।
मेरो जाने ठाउँ कहाँ थियो र ? म मौन बसेँ ।
‘ठाउँ छैन भने मेरै डेरा जाऊँ ।’

यी रहस्यमयी युवती को हुन् ? मलाई किन लाँदैछिन् ? मैले केही बुझ्न सकेको थिइनँ । तर, त्यत्तिमै म धन्य थिएँ कि म सडकमा चाहिँ थिइनँ । केही समयपछि ट्याक्सी एउटा घर अगाडि रोकियो । युवतीले मेरो पाखुरा च्याप्प समातिन् र अघि बढिन् । सायद नशामा भएकाले उनलाई मेरो सहारा चाहिएको थियो । म थकान र भोकले शिशुपाल भइसकेको थिएँ । किन हो, मैले कुनै प्रतिरोध गरिनँ र चुपचाप उनीसँग हिँड्न राजी भएँ ।

उनले कोठाभित्र प्रवेश गर्नेबित्तिकै चुकुल लगाइन् । ज्याकेट खोलेर सोफातिर फ्याँकिन् । बेपरवाह उनले सर्ट र स्कर्ट पनि उतारिन् । उनको भित्री वस्त्रहरू मात्र बाँकी बसे । कोठामा गर्मी थियो । पङ्खा चलाइन् । उनका बैँसका अवयवहरू स्वच्छन्दसँग हावाको रसास्वादन गर्न थाले । यति नजिकबाट मैले कुनै युवतीको अर्धनग्न शरीर देखेको थिइनँ । सरमले मेरो नजर झुक्यो ।

कस्तो लाजहीन केटी रहेछ भन्ने लाग्यो । उमेरको लक्का जवान केटो त म पनि थिएँ । तर, भोक र थकाइले होला, उनको अर्धनग्न शरीरले पनि मलाई कुतकुती लागेन । कुनै तरङ्ग छेडेन । सायद मेरा इन्द्रियहरू सुषुप्त थिए ।
उनले एउटा चुरोट सल्काइन् र हावामा धुवाँ फुङ्ग फालिन् । अनि मलाई खाउँलाजस्तो गरी हेर्न थालिन् । मानौँ उनी बघिनी हुन् र म उनको सिकार । अनि एकैछिनमा उनी ममाथि झम्टिनेछिन् ।

‘पैसा छ ?’ उनले चुरोटको धुवाँ बाटुलो पारेर मेरो अनुहारतिर फ्याँकिन् अनि सोधिन् ।

‘पैसा ?’ म छक्क परेँ, ‘छैन त पैसा मसँग ।’
‘साला, पैसा छैन रे !? अनि किन आ’को त मसँग ? सित्तैँमा मोज गर्न पाउँछु भन्ने ठानेको कि क्या हो ?’
उनी जुरुक्क उठिन् । मेरो प्यान्टको अघि, पछि चारैवटा खल्तीमा हात घुसारिन् । कमिजको खल्ती पनि छामछुम पारिन् । केही भए पो निस्कनु ? उनले मलाई किन लिएर आएकी रहिछन् भन्ने बल्ल मैले बुझेँ ।

‘साला, कस्तो भुक्कालाई लिएर आएछु । आज मेरो दिन नै खराब ।’
उनी एक्लै भुत्भुताइन् अनि जोडले मेरो शरीरको पछिल्तिरको भागमा लात हानिन् ।
‘निस्किहाल् ।’

मेरो शरीरमा कुनै शक्ति थिएन । म ढुनमुनिँदै लडेँ । टाउको ढोकामा ठोक्कियो र भाउन्न भयो । रगत पनि बग्न थाल्यो । रगत मात्र बगेको भए त हुन्थ्यो, आँसु पनि बरर्र खस्यो । यो दुनियाँ मसँग किन यति निर्दयी भएको होला ? टाउकोको पीडाभन्दा पनि मनभित्र ठूलो औडाहा भयो ।
सायद टाउकोबाट रगत बगेको देखेर हो वा मेरो आँसु, उनको मन केही पग्लिएछ ।

‘ए सरी–सरी है ।’ उनी मेरो टाउको छाम्न आइपुगिन् । ‘एकछिन समातेर बस है । म ब्यान्डेज लिएर आउँछु ।’
कपास चोपेर डेटोल लगाइदिइन् र ब्यान्डेज बाँधिदिइन् । दुखाइ कम गर्ने औषधिको एउटा ट्याब्लेट पनि दिइन् । उनी जे हुन्, जस्तो हुन् तर उनीभित्र मानवता भने ज्यूँदै रहेछ ।

‘भोक लागेको छ ?’ उनले सोधिन् । मेरा कलेटी परेको ओठ र धस्सिएका आँखाबाटै उनले अनुमान लगाइन् होला, म कति भोको छु !
भित्र भान्छाबाट एउटा प्लेटमा चिउरा, दालमोठ र अचार ल्याएर दिइन् । दुई दिनदेखिको भोक । एक शब्द नबोली थाल एकैछिनमा सिनित्त पारेँ । यसबीच उनले गन्जी र ट्राउजर लगाइन् ।

‘ल ऊ त्यो ओछयानमा सुत । मेरो साथीको ओछ्यान हो, आज राति आउला जस्तो छैन । बिहानै उठेर जानू । मलाई चाहिँ नउठाउनू नि ।’

उनले आफ्नो पर्स खोलिन् र पाँच सयको नोट मेरो हातमा थमाइदिइन् ।

‘ल यो अलिकति खर्च । जहाँबाट आएको हो, बस समातेर त्यतै फर्किनू । काठमाडौँमा बेखर्ची भएर भौँतारिने काम छैन ।’ उनी यसरी बोलिरहेकी थिइन् मानौँ उनी मेरी अभिभावक हुन् ।

यिनी कस्ती केटी हुन् ? मलाई ग्राहक सम्झेर अपहरण शैलीमा लिएर आएकी थिइन् र अहिले उल्टै मलाई बाटो खर्च दिँदै थिइन् । एकछिन त म के गरुँ, के नगरुँको द्वैध मनस्थितिमा परेँ । मलाई पैसाको जरुरत थियो । मैले पैसा खल्तीमा राखेँ । भलै यो एउटा नगरवधूको कमाइ किन नहोस् ! म स्वाभिमानी कहिले पो थिएँ र ?
‘धन्यवाद रेजिना !’ मलाई बल्ल केही बोल्ने आँट आएको थियो ।
‘रेजिना रे ! ‘ उनी मज्जाले हाँसिन्, ‘मेरा अरु पनि नामहरू छन् सपना, विपना, रविना, करिश्मा, रेखा जुन नाम मन पर्छ, त्यही नामले बोलाऊ ।’
उनी हाँस्दा राम्री देखिइन् । उनको रूप अहिले अर्कै थियो । एकछिन अघिको बेसरम सडकछापभन्दा धेरै फरक । त्यसपछि म खाटमा पल्टिएँ र भुसुक्कै निदाएँ पनि ।
बिहानै कसैले मलाई घच्घच्यायो, ‘ए मिस्टर, यो मेरो बेड हो ।’
आँखा मिच्दै उठेँ । एउटा अर्कै केटी थिइन् । रेजिनाले भनेकी साथी उही हुनुपर्छ । अर्को ओछ्यानमा रेजिना अझै मस्त निद्रामा थिइन् । उनलाई एक वचन बोलाएर जान मन लागेको थियो तर नउठाउनू भनेकीले उठाइन् । एक रात भए पनि आश्रय दिएकोमा मनमनै कृतज्ञता व्यक्त गरेँ र निस्किएँ ।
बाहिर झिसमिसे अँध्यारो थियो । पर क्षितिजमा भने भोर हुँदै थियो । चराचुरुङ्गीहरू चिरबिर गर्दै थिए । सडक अझै चकमन्न थियो । मलाई आफू कहाँ छु भन्ने पनि हेक्का भएन । कता जाँदै छु भन्ने पनि सुर भएन ।
‘जहाँबाट आएको हो, बस समातेर त्यतै फर्किनू । काठमाडौँमा बेखर्ची भएर भौँतारिने काम छैन ।’
रेजिनाले भनेका यिनै वाक्य कानमा प्रतिध्वनि भइरह्यो । उनकै बारेमा सोचिरहेँ । उनले दिएको पाँच सयको नोट एकछिन खेलाएँ र फेरि खल्तीमै राखेँ । बाटोमा एउटा मान्छेले बसपार्कको बाटो देखाइदियो । बाटोभरि अघिल्लो साँझको घटना परिदृश्य बनेर घुमिरह्यो ।

यति भनेपछि नहकुल चुप लाग्यो । मैले रक्सी थपिदिएँ । उसले रक्सीको एक घुट्को लियो र सितन चपायो अनि बेपरवाह हाँस्यो ।
‘ट्याक्सी ड्राइभरसँग बसेर रक्सी खाने हजुरजस्तो प्यासेन्जर अहिलेसम्म भेटेको थिइनँ ।’ उसले यही वाक्य दोहोर्याई–तेहेर्याइरह्यो । नशा अलि बढी नै चढेछ क्यारे ।
उसको कथा गहिरो हुँदै गएको थियो । अरु खोतलखातल गर्न मन लाग्यो ।
‘तिमी गाउँ त फर्किएनौ नि होइन, नहकुल ?’

नहकुलको अनुहारमा फेरि गम्भीरता छायो । एकछिनको मौनतापछि बोल्न सुरु गर्यो ।

परिवारमा म, बा, आमा र भाउजू थियौँ । दाजु कतारमा हुनुहुन्थ्यो । हाम्रो घर अलि अग्लो ठाउँमा थियो र अरुको भन्दा पक्की पनि थियो । गाउँको चौकी माओवादीले ध्वस्त पारेपछि प्रहरीहरूले हाम्रो घर जबर्जस्ती कब्जामा लिए र माथिल्लो तलामा चौकी बनाए । हाम्रो परिवार भुइँतला र गोठमा सीमित भयो । माथि झ्यालबाट बन्दुकका नालहरू हमेसा बाहिरतिर सोझिएको हुन्थ्यो । उनीहरूको बिरोधमा केही बोल्न हुँदैनथ्यो । सङ्कटकाल भनेको के हो थाहा छ भनेर थर्काइरहन्थे । हामी चुपचाप बस्न बाध्य थियौँ ।

प्रहरी चौकी बस्न दिएकोमा माओवादीहरू हामीसँग क्रुद्ध थिए । बारम्बार धम्की आइरहन्थ्यो । एक दिन बेसीको खेतमा जानुभएका बुबाको मृत शरीर खोल्सामा भेटियो । त्यसको एक सालपछि अर्को बज्रपात भयो । कतारमा दाजु मेसिनमा च्यापिएर बित्नु भएछ । उहाँको शरीर बन्द बाकसमा नेपाल आइपुग्यो ।
हाम्रो विपत्तिको शृङ्खला यहीँ सकिएन । चौकीमा एउटा हवल्दार थियो, जो विधवा भाउजूसँग हात हालेर चलिरहेको देख्थेँ । एक दिन प्रतिरोध गरेँ र हवल्दारको निर्घात पिटाई खाएँ । त्यसपछि डरले देखे पनि नदेखेजस्तो गर्न थालेँ । भाउजू दुई जीउकी हुनु भएछ । गाउँघरमा गाइँगुइँ हल्ला चल्न थाल्यो । हवल्दार सरुवा लिएर गइहाल्यो । यता भाउजू गोठमा पटुकीको पासो लगाएर झुन्डिनुभयो । घरमा बाँकी रह्यौँ आमा र म ।
तीजको रात थियो । दिनभरिको रमझम त्रासदमा परिणत भएको रात । मादल र झ्यालीका तालमा मस्त तीजको नाचगानको बीच गोली र बारुद विष्फोटनसँगै महिलाहरूको कोलाहल, चिच्याहट र भागदौड मच्चिएको रात । माओवादीहरूले आक्रमण गरे । प्रहरीको चौकी बसेकाले हाम्रो घर आक्रमणको केन्द्र बन्यो । गोलीले घर छियाछिया पार्यो । मेरै अगाडि दुई जवान प्रहरी लडे र पानी–पानी भन्दै प्राणपखेरु छोडे । बँचेका म र केही प्रहरी माओवादीको कब्जामा पर्यौँ । आमा तीजमा मामाघर जानु भएकाले बच्नुभयो । त्यो रात माओवादीहरूले जङ्गलै जङ्गल खुब हिँडाए । बास बसेको ठाउँमा उनीहरू निदाएको मौका पारेर म भागेँ र भाग्दा–भाग्दा काठमाडौँ आइपुगेँ । बाघको खोरबाट फुत्केर भागेको मान्छे फेरि खोरमै कसरी फर्किनु दाजु ? म गाउँ फर्किन सकिनँ ।
….
त्यसपछि नहकुल चुप लाग्यो । उसको आँखाको डिलमा आँसु टलपल गर्यो । जनयुद्धका खबरहरू पढेको थिएँ । टेलिभिजनमा हेरेको थिएँ । तर, कोही पीडितलाई प्रत्यक्ष भेटेको थिइनँ । मैले समाचारमा हेरेको वा पढेकोभन्दा नहकुलको भोगाइ धेरै कहालीलाग्दो रहेछ । उसको कथा–व्यथा सुनेर म स्तब्ध भएँ । सहानुभूतिका केही शब्द पनि दिन सकिनँ । म निःशब्द भएँ ।

नहकुलले आफ्नो कथा जारी राख्यो ।

‘त्यो दिन बसपार्कमा एउटा ड्राइभरसँग भेट भयो । उसलाई खलासी चाहिएको रहेछ । मलाई काम दियो । केही वर्षपछि मैले आफैँ गाडी चलाउन सिकेँ अनि ट्याक्सी चलाउन थालेँ ।’
‘मैले किन बस, ट्रक नचलाएर ट्याक्सी नै चलाएँ होला, बुझ्नुहुन्छ दाइ ?’ उसले एउटा प्रतिप्रश्न गर्यो । त्यसको उत्तर मसँग हुने कुरै भएन ।
‘अहँ, भन न ।’
उसले गिलासको बाँकी रक्सी स्वाट्ट पार्यो र बोल्यो ।
‘अघि बिहे किन नगरेको भनेर सोध्दै हुनुहुन्थ्यो नि, हो त्यसको उत्तर पनि यसैमा दिन्छु । म रेजिनाको तलासमा छु । यो सडकमा उनलाई खोजिरहेको छु । उनको डेरा खोज्दै गएँ । तर, पत्ता लगाउन सकिनँ । ट्याक्सी चलाएर सडकमा गुड्दागुड्दै एक दिन त उसलाई अवश्य भेट्ने आशा छ । कुनै न कुन दिन उनी मेरो ट्याक्सी चढ्न आउनेछिन् । म उनलाई नै विवाहको प्रस्ताव राख्नेछु ।’
म उसको कुरा सुनेर चकित भएँ । रेजिनाप्रतिको उसको प्रेमले मलाई नतमस्तक तुल्यायो । रेजिनाको जीवन हिलोमा छ भन्ने थाहा हुँदाहुँदै पनि नहकुलले उसमा सिर्फ फूल देख्यो र त्यही फूलको प्रेममा पर्यो । प्रेम कहिले हुन्छ, कोसँग हुन्छ, कस्तोसँग हुन्छ, कसरी हुन्छ, त्यसको कुनै नियम छैन । बस्, एक दिन हुन्छ, कोहीसँग हुन्छ, जस्तोसँग पनि हुन्छ र जसरी पनि हुन्छ । नहकुललाई पनि भयो ।
मैले नहकुललाई उसको प्रेम चाँडै भेटियोस् भनेर शुभकामना दिएँ र बिदा भएँ ।
‘ट्याक्सी ड्राइभरसँग बसेर रक्सी खाने हजुरजस्तो प्यासेन्जर अहिलेसम्म भेटेको थिइनँ ।’ छुट्टिन लाग्दा उसले एकपल्ट फेरि उही डाइलग दोहोर्यायो अनि मज्जाले हाँस्यो । म पनि हाँसेँ । भोलिपल्ट मेरो फ्लाइट थियो । हवाईजहाजको यात्रा मेरो नयाँ ट्याक्सी ड्राइभर साथीबारे सोचेरै पूरा गरेँ ।
त्यसको दुई वर्षपछि म नेपाल फर्किएँ । र, नहकुललाई फोन गरेँ । ऊ मलाई भेट्न होटेलमा आयो । साथमा एउटी युवती पनि थिइन् । युवतीको सिउँदोमा सिन्दूर थियो । गलामा पोते । मैले आँखाको शानले ‘उनी को’ भनेर सोधेँ ।
नहकुल अलि लजायो र बोल्यो, ‘दाजु, यिनी उनै हुन्, जसको तलासमा म थिएँ ।’



प्रतिक्रिया दिनुहोस्