Logo

पुतलीको पखेटामा बसेको पृथ्वी



मनोज बोगटी :

जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनिको मैलो घुरेनमा पाएँ ।

माकुराको जालोले बेरिएर तिनी अभर परेकी थिइन् ।

मैले माकुराको जालो हटाइदिएँ ।

‘तिम्रो नाम के हो ?’

‘मिसुजा ।’

‘पुतली होला,’ मैले ठूलो स्वरमा भनेँ ।

‘मिसुजा नै हो ।’

‘पक्का ?’

‘पक्का ।’

उनले मलाई हात दिइन्, मैले समाएँ । बारीको कान्लाबाट उक्लँदा तिनको दाहिने कुममा क्यामेरा थियो ।

उसको रातो फ्याल्टरमुनिको गोरो अनुहारमा माकुराका बच्चाहरू झुन्डिएका थिए ।

‘तिमीलाई अब माकुराले खान्छ,’ मैले भनेँ ।

‘उसले त पुतली पो खान्छ ! मलाई खान्छ र ?’ उनले भनिन् ।

‘यति सानो माकुराले पुतली खान सक्दैन,’ मैले बुझाएँ ।

‘आफ्नै आमा खानेले पुतली छोड्छ ?’ मलाई सोधिन् ।

मिसुजाले मलाई चिट्ठी पो लेखिछन् ।

च्याङ्बा !

मलाई माकुरा मन पर्दैन । तर, माकुराले रोबर्ट ब्रुसलाई युद्ध जितायो । माकुरालाई विश्वमै बलियो र अग्लो गरी रोबर्ट ब्रुसले गाडिदिएका हुन् । के त्यसलाई उखेल्न सक्दैन भन्ठान्छ इतिहासले ?

इतिहासले मानिसलाई धोका दिएको छ । खासमा माकुराले पुतली खान्छ । सबैभन्दा खराब कुरा यही हो । इकोलजी  … ।

प्रकृतिको आफ्नै केही स्वार्थ हुँदैन । स्वार्थ मानिसका हुन्छन् । रोबर्ट ब्रुसले माकुरालाई प्रेरणा मान्नु, त्यो ऊभित्र निहित शक्तिको उत्खनन प्रक्रियाको कुरा थियो । तर, माकुरा आफैँ महान् होइन । मलाई सधैँ जाल थापेर बस्ने माकुराको जीवन सौन्दर्यले संसारलाई कुनै सुन्दर सपना दिन्छ भन्ने नै लाग्दैन । माकुराले सधैँ क्रुर हुन सिकाउँछ, च्याङ्बा । मलाई यस्ता क्रुरताका विम्बसित कुनै रुचि जागेन । तर, रोबर्ट ब्रुसको इतिहासले माकुरालाई महिमित ग¥यो । इतिहासबाट सही व्याख्या नभएकैले, सही लेखन र अध्ययन नभएकैले धोका खाइने हो ।

हिरोसिमा र नागासाकी क्रुरताका मिथक हुन् । मलाई त मेरो समाजले यस्ता क्रुरताका आयाम र चरित्रहरूबाट निर्माणको ऊर्जा खोज्न सिकायो । समाजले जीवनलाई दिने होइन, जीवनले समाजलाई दिने हो । त्यो जीवन क्रुरताका दर्शनले निर्माण गर्दैन, प्रेमले गर्छ च्याङ्बा ।

पुतलीलाई नै हेर, यो कति रङ्गीन छ ! तिम्रो हिमालका फेदको चियाका हरिया बुटाहरू, बीच–बीचमा रातै फुलेका शिरीषका रुखहरू, मास्तिर टल्किरहेको हिमाल त पुतलीको एउटै पखेटामा अङ्कित हुन्छ । संसारका सबभन्दा सुन्दर चित्रकला हेर्न मन लाग्यो भने पुतली हेर्दा हुन्छ । मलाई त पुतलीको पखेटा तिम्री भुन्टी आरतीका चञ्चल आँखाझैँ लाग्छ ।

जतिखेर तिम्री भुन्टी आरतीले तिमीलाई छ्डके नजरले हेर्छे, ती हजार बिरङ्गी पुतलीहरू एकसाथ आकाशतिर उडे समान हो । जतिखेर तिम्री भुन्टी आरती तिमीलाई देखेर मुस्काउँछे, ती हजार बिरङ्गी पुतलीहरू एकसाथ आकाशबाट पृथ्वीतिर झरे समान हो ।

पुतलीले पृथ्वीलाई कति सुन्दर बनाउँछ ! पुतलीहरू त्यति सुन्दर हुन्छन् च्याङ्बा, जति सुन्दर रक्सी पारिरहेकी तिम्री आमाको मन छ । तिम्रो पहाडी रूप छ । भङ्गी छ । जे छ, खुब सुन्दर छ, पुतलीझैँ ।

त्यो दिन म पुतलीलाई बँचाउन तिम्रो घुरेनमा पुगेको थिएँ । म त्यो पहेँलोमा कालो थोप्ला भएको पुतलीको क्लोज–अप लिन चाहन्थेँ । पुतली तिम्रो घुरेनमा गयो । पुतलीलाई लाग्यो होला– म उसलाई खेदिरहेकी छु । तर, ऊ माकुराको जालोमा पर्यो ।

मैले मिसुजाको क्यामेरा ओल्टाइपल्टाइ हेरेँ । तिनी रातोमाटोले लिपेको सिकुवामा मकै–खोसेलाको भुइँपिरामा थिइन् । सिल्भरको मगमा तिनले चिसो पानी घट्घटी पिइरहेकी थिइन् ।

‘मर्यो तिर्खा ?’ मैले सोधेँ ।

‘च्याङ्बा,’ चिम्सी आँखाले मलाई मायाले हेरिन् र भनिन्, ‘तिर्खा मर्दैन, यो अजम्बरी हो ।’

‘के भनेको यस्तो ?’

‘हो, च्याङ्बा,’ मिसुजाले भनिन्, ‘तिर्खा नमरेकाले नै म छु । यो तिर्खाले नै मलाई तिम्रो घुरेनमा लग्यो । यो तिर्खा मरेको दिन संसारमा सजीवता रहँदैन । तिर्खा हुनुपर्छ, लागिरहनुपर्छ, र मात्र म तिम्रो घुरेनमा आइपुग्छु ।’

‘म त तिम्रो कुरा बुझ्दिनँ हौ मिसुजा ।’

‘सबै कुरा बुझ्नका निम्ति हुँदैनन् च्याङ्बा ।’

‘केका निम्ति हुन्छन् त ?’

‘कुराको निम्ति ।’

‘के भनेको भनेको तिमीले त, नबुझ्ने ।’

‘त्यही त राम्रो कुरा हो च्याङ्बा,’ मिसुजाले भनिन्, ‘तिमीले बुझेको दिन, तिमीलाई मेरो याद आउनेछ ।’

उनले मेरो गालालाई साना–साना औँलीले मुसारिन् । रातो फ्याल्टरले बाधा नगरेको भए मेरो गाला चुम्थिन् । त्यो आरतीले देखेकी भए खुब रिसाउँथी ।

मिसुजाले लेखिछन्;

मैले पछि बुझेँ । पुतलीले मलाई नयाँ ज्ञान दियो । मैले त्यसलाई त्यतिबेला नै किन बुझिनँ हँ च्याङ्बा ? जुन बेला सिकाइन्छ, त्यो बेला सिकिएन भने ऊ सधैँलाई पछि पर्छ । पुतलीबाट मैले यही सिकेँ । जुन दिन म तिम्रो जिल्लाको पुलिस थानाको पिसाब गन्हाउने कोठामा थिएँ, म त पछि नै परेको थिएँ ।

सिल्भरको मग धारामा खुरुरु कुदेर पुर्याइन् । फ्याल्टर मिलाइन् र अघिअघि हिँडिन्, म पछि–पछि हिँडेँ । उनी हिँड्दै–हिँड्दै बोलिरहिन् ।

‘च्याङ्बा, तिम्रो गाउँ त विश्व हेर्ने आँखा हो । सुन्दरताको शिक्षा विश्वलाई पढाउने किताब हो । तिम्रो गाउँमा उड्ने पुतलीहरू चाहिँ ती किताबका अक्षरहरू हुन् । तिम्रो देशले गाउँ पढ्दैन, त्यस कारण पिछडिएको छ तिम्रो देश ।

तिम्रो गाउँको धाराले के भन्छ ?

तिम्रो घुरेनमा बस्ने माकुराले के भन्छ ?

त्यहाँ फस्ने पुतलीले के भन्छ ?

तिम्रो देशले सुन्यो भने तिम्रो देश– देश बन्छ ।

तिम्रो गैरी खोल्चामा खस्ने चिलाउनेको पातले के भन्छ ?

तिम्रो गाउँको रुख र त्यसको जराले तिम्रो देशलाई, विश्वलाई भन्छ–यसरी उभिनू ।

विश्व तिम्रो गाउँजस्तो नउभिएकाले नै छट्पटाइरहेको छ । च्याङ्बा, पुतली दर्शन यो हो ।’

मिसुजाले जॉँदाजॉँदै मलाई यसरी के–के भनिन् ।

‘तिमी कवि हौ मिसुजा ?’ मैले नबुझेर सोधेँ ।

मिसुजाले फ्याल्टर उचालिन्, मलाई हेरिन्, मिचिक्क मुस्काइन् र भनिन्, ‘कवि त तिमी हौ च्याङ्बा ! तिम्रो यो हिमाल हो, यी चियाका बुटाहरू हुन् । यो गाउँ हो, यी गोरेटाहरू हुन् । जसले आफूलाई अहिलेसम्म निर्धक्क लेख्नै पाएको छैन ।’

मिसुजा टक्क अडिन्, मतिर फर्किइन् र सोधिन्, ‘तिमीलाई थाहा छ च्याङ्बा ?’

मैले पनि सोधेँ, ‘के ?’

मिसुजाले भनिन्, ‘कविता त नलेखिएकै सुन्दर हुन्छन् ।’

अनि मैले भनेँ, ‘तिमी नै जान, म त बुझ्दिनँ यस्तो कुरा ।’

गैरीडाँडाबाट खोल्चा झर्दै, एलबी सरको चिहान हुँदै गइन् मिसुजा, हात हल्लाँउदै हल्लाउँदै ।

 

म त्यही डाँडामा उभिएर डाँडाको चिलाउनेको रुखबाट झरेको पात हेरिरहेको छु । त्यो पात पनि मजस्तै छ, रुखहीन । हाँगाहीन । उद्देश्यहीन । गन्तव्यहीन । लक्ष्यहीन ।

मलाई बाहुनगाउँको साइबर क्याफे पुग्नु छ, सर्भिस प्रोभाइडर कम्पनीले भर्खर खोलेको नयाँ विङमा ‘जब’का लागि अनलाइन फर्म भर्नु छ । गैरी खोल्साको बाटो हिँड्दै गर्दा मलाई मिसुजाको याद आयो ।

मैले दुबो उम्रिएको आँगनमा खालीखुट्टै उभिएकी मिसुजालाई भनेको थिएँ–

‘मिसुजा, जे होस्, तिमी मेरो देशमा छौ । मेरो देशले तिमीलाई पुतली देखायो, म खुसी छु ।’

‘पुतलीको धनी त तिम्रो गाउँ हो । धनीत गाउँ हो, ‘धनी’को अर्थ तिम्रो देशले जान्यो भने,’ भनिन् मिसुजाले ।

‘खै मेरो देशका गाउँहरू त यस्तै छन् । सरकारले खाली ग्रिन, रेड, यल्लो, पिङ्क सिटीको योजना बनाउँछ । मेरो गाउँमा त त्यही सयदिने रोजगार छ । आमाको रक्सी दोकान छ । नङ पलिस नलगाएका आरतीका सुन्दर नङहरू छन् । यस्तै छ हौ, मिसुजा,’ मिसुजासित मन खोलेर मैले लामो बोलेको त्यत्ति हो ।

‘म तिमीलाई चिट्ठी लेख्नेछु,’ भनिन् मिसुजाले, ‘यी पुतली, तिम्रा पुतलीझैँ कोमल मन, हजारौँ सपनाले घेरिएका पुतलीका पखेटाझैँ तिम्रा आँखा, तिम्रो हिमाल, गाउँ … यी सबै–सबैबारे म किताब लेख्नेछु ।’

त्यो दिन गोर्खा जनमुक्ति मोर्चाको जनसभा थियो । नारा–जुलुस चलिरहेको थियो । मिसुजालाई पुलिसले जनसभाको छेउबाटै लग्यो । पछि–पछि मलाई पनि लग्यो ।

‘बङ्गाल हाम्रो चिहान हो, बङ्गालमा हामी बस्दैनौँ,’ एउटाले भन्थ्यो । त्यसपछि अरू भन्थे, ‘बस्दैनौँ ! बस्दैनौँ !!’

हामी उनीहरूलाई हेर्दै–हेर्दै, सुन्दै–सुन्दै थानामा पुग्यौँ । थानामा पुतली थिएन, मिसुजाका अघिल्तिर माकुराहरू नै थिए ।

‘यसलाई चिन्छौ ?’ अफिसरले मलाई सोध्यो ।

‘चिन्छु ।’

‘दुवैलाई हाल्,’ पुलिस अफिसरले भन्यो ।

म छक्क परेँ । मेरा मनमा हजारौँ प्रश्नहरू थिए । यस्ता प्रश्नहरू थिए, जो मलाई मिसुजाको ढङ्गमा सोध्न मन लागेको थियो ।

‘तपाईं यसो गर्न पाउनुहुन्न सर । ऊ मिसुजा मात्र होइन, जीवनको सौन्दर्य पनि हो । मलाई गाउँ चिनाउने मिसुजा मेरो देशलाई, विश्वलाई पुतलीको कथा भन्नेवाला छिन् ।

तिनी भन्छिन्, ‘तिम्रो देश रङ्गीन पुतलीहरूले बनिएको छ । तर, तिम्रो देशको सरकारलाई पुतलीको सौन्दर्य नै थाहा छैन ।

सर, यी आन्दोलनकारीहरूको भीड जो छ, ती सबै पुतली लाग्छन् मिसुजालाई । उनलाई त लाग्छ, उनीहरूको सौन्दर्य यो देशको सरकारले बुझ्नुपर्छ । यी नै पुतलीहरूले यो देश रङ्गीन छ । कति वर्षदेखि यी पुतलीहरू आफ्नो सौन्दर्यको हकदाबी गरिरहेका छन् । सरकारले जुन लोकतन्त्रको कुरा गर्छ, त्यो यी पुतलीहरूको दाबीलाई सम्बोधन नगरेसम्म पङ्गु कुरा हो ।

यति सुन्दर कुरा गर्ने मिसुजालाई थानामा थुनेर तपाईं उसको देशलाई के साबित गर्नुहुन्छ ? सर, ऊ त देशबाट बाहिर आएकी हुन्, तपाईं थानामा थुनिरहनुभएको छ ।’

यसरी ढङ्ग पु¥याएर भन्न सक्दैन भनेर नै मिसुजाले मेरो मुख थुनिदिइन् ।

‘च्याङ्बा, थाना भनेको सरकार हो, सत्ता हो । शासक हो । पुलिस भनेका नेता । गाउँका यी अल्पसङ्ख्यक पुतलीहरू सरकार बनाउन काम लाग्दैनन् । त्यस कारण पुतलीहरूसित उनीहरूको लगाव छैन । तर, च्याङ्बा, तिमीले यो कुरा बुझिराख । पिसाब गन्हाउने यो कोठामा एउटा पुतली बस्न सक्छ तर उसलाई थुन्न सकिन्न,’ मिसुजाले मलाई भनिन् ।

मिसुजाले फोन गर्ने अनुमति मागिन् । फोन गरिन् अनि पुलिसलाई दिइन् । त्यसपछि पुलिस अफिसरले भनेको एउटै वाक्य हो, ‘सरी म्याम, मिस्इन्फर्मेसन भयो ।’

मलाई पुलिस अफिसरसित रिस उठिरहेको थियो । जो एउटा पुतली माकुराको जालोमा परेको हेर्न सक्दैन, ऊ कसरी पुतलीको तस्कर हुन सक्छ ?

त्यसपछि मिसुजालाई मैले आफ्नो घर लिएर आएँ । सबैभन्दा पहिले उनले सिल्भरको मगमा चिसो पानी घटघट पिइन् । त्यसपछि मिचिक्क हाँसिन् ।

र, भनिन्, ‘लाइफः अ बटरफ्लार्ई ।’

धेरै वर्षपछि मिसुजाले साँच्चै किताब लेखिन् । त्यो किताबको नाम थियो, लाइफः अ बटरफ्लार्ई ।

‘विश्व, तिमी जुन शान्तिको सपना देखिरहेछौ, त्यसको बीज च्याङ्बाको गाउँमा छ । त्यसको स्रोत त्यो गाउँको पहेँलोमा कालो थोप्ले पुतलीमा छ । र, छ त्यो पिसाब गन्हाउने पुलिस थानामा । जहाँ संसारको कुनै पनि पुतलीलाई थुन्न सकिन्न । कुनै पनि देश, देशका मन्त्री वा पुलिस पुतलीको शासक हुन सक्दैन,’ किताबको भूमिकामा मिसुजाले लेखिछन् ।

अनि, त्यही किताबका निम्ति यस वर्षको नोबल पुरस्कार पाइन् ।

म त्यही समाचार छापिएको खबरकागज बोकेर त्यही पिसाब गन्हाउने पुलिस थानामा त्यहीँ उभिएको थिएँ, जहाँ मिसुजा उभिएकी थिइन् ।

म पुलिस अफिसरलाई भनिरहेको थिएँ, ‘थुन्नु भो पुतली ? अब थुन्नुस्, जो अहिले विश्वभरि उडिरहेको छ । थुन्नुस् त अब ? बुझ्नु भो ? पुतलीको पखेटामा बसेको छ पृथ्वी । तपाईं त्यही पृथ्वी खाने कीरा हुनुहुन्छ ।’

खासमा मिसुजाको किताबको एउटा पात्रले बोलेको संवाद यो हो । मैले त्यही दोहो¥याएको हुँ ।

त्यो पुलिस अफिसरले बौलाहा ठानेर मेरो गालामा दुई थप्पड हान्यो । तर, म मेरी भुन्टी आरतीलाई मन पर्ने मुस्कान बोकेर घर फर्किएको थिएँ ।

म घुरेनको माकुराको जालो भत्काइरहेको छु, मिसुजा नोबेल थापिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्