Logo

लकडाउनमा प्रकृतिको अद्भुत् सरसफाई



कपिल लोहनी : परापूर्वकालदेखि नै हिमालय क्षेत्र आफ्नो हरियाली, सुन्दरता, शान्त वातावरण र स्वच्छ हावापानीले गर्दा ईश्वर, ऋषिमुनि र मानवजातिको मात्र प्रिय बासस्थान बनेन, बरु विभिन्न खालका पशुपन्छीहरुको समेत घर बन्न पुग्यो । पौराणिक कालदेखिको इतिहास र धर्मग्रन्थहरुमा समेत हिमालयमा आएर भगवान्हरुले बास गरेका कुरा उल्लेखित छन् । विभिन्न कालखण्डमा खासगरी भारतवर्षका विभिन्न ठाउँका राजाहरु युद्धमा पराजित भएपछि हिमालयको काखमा नै आएर आश्रय लिएका तथा यहीँ नयाँ राज्यको सिर्जना गरेका कुरा समेत इतिहासका पुस्तकहरुमा पढ्न पाइन्छन् ।

अंग्रेजहरुले भारतमा राज गर्दा हिमालयका विभिन्न भागहरु समेत आफ्नो नक्सामा हाल्न सफल भए भने नेपालले समेत आफ्नो राज्यको पूर्वी र पश्चिमी दुवैतिरका हिमालय क्षेत्रहरुमा पर्ने भूभाग गुमाउनु पर्यो । भारतका रजौटाहरुलाई हराउन नेपालका प्रधानमन्त्री जङ्गबहादुरले गरेको मद्दतबाट खुसी भएको अंग्रेज सरकारले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जस्ता मैदानी क्षेत्र नेपाललाई फिर्ता गर्यो तर हिमाली र पहाडी क्षेत्र फिर्ता गर्ने चेष्टा गरेन । बरु उस्ले यस्ता क्षेत्रहरुका धेरै ठाउँमा गर्मीको समयमा गएर बस्ने हिल स्टेसनहरु बनायो ।

आज नेपाल जे जत्रो भए पनि हिमाली क्षेत्रको ठूलो भूभाग अहिले पनि हाम्रै राष्ट्रमा पर्छ र ८,००० मिटरभन्दा अग्ला विश्वकै १४ वटा हिमशिखरमध्ये ८ वटा नेपालमा अवस्थित छन् । हाम्रो मुलुकका अधिकांश जनता चरम गरिबीमा जीवनयापन गर्न बाध्य भइरहेको भए पनि र यहाँ विकासका पूर्वाधारहरु पनि निकै थोरै मात्र तयार भए पनि नेपालको भ्रमण गरेर यसको प्राकृतिक सौन्दर्य र पुर्खाहरुले बनाइदिएका कलात्मक मठमन्दिर र दरबारहरु हेर्न विदेशीहरु निकै लालायित हुन्छन् ।

काठमाडौँ उपत्यकाको नै कुरा गर्ने हो भने पनि यो उपत्यकालाई आफ्नो हातमा पार्न परापूर्व कालदेखि नै विभिन्न राज्यका राजाहरुदेखि लिएर अङ्ग्रेजहरुले समेत धेरैचोटि प्रयास गरेका थिए । यहाँ विभिन्न समयमा शासन गर्ने शासक वर्गहरु जस्तैः गोपाल, महिषपाल, लिच्छवि, मल्ल वा शाह वंशहरु सबै बाहिरियाहरु नै थिए । लिच्छवि र मल्ल वंशका राजाहरुले भने काठमाडौँमा कला र संस्कृतिको अमिट छाप नै छोडेर गए ।

आज काठमाडौँमा युनेस्कोले घोषणा गरेका सात वटा विश्व सम्पदा स्थलहरु छन् भने यहाँ प्रत्येक महिना भिन्दाभिन्दै प्रकारका जात्रा र चाडपर्वहरु मनाइन्छन् । मलिलो र हराभरा यस उपत्यकाले धेरै समयसम्म आफ्ना बासिन्दाहरुलाई चाहिने खाद्य पदार्थ आफै उत्पादन गर्दथ्यो । तर आधुनिकीकरण र मुलुकको राजधानी समेत भएको कारणले काठमाडौँको जनसंख्या हेर्दाहेर्दै यस्तोसँग बढ्न थाल्यो कि आज यहाँ ६० लाख जति मानिसहरु बस्छन् भने तिनका लागि चाहिने घर, सवारीका साधन, बाटाघाटा, स्कुल, कलेज, कार्यालयहरु, कलकारखाना, पसल, सपिङ मल, मनोरञ्जन र खानपिनका स्थलहरु आदि इत्यादिले गर्दा ६६५ वर्ग किलोमिटरको काठमाडौँ उपत्यका मात्र होइन, यो उपत्यकाका नजिकका बस्ती र सहरहरु समेत यसैमा समाहित भएर खचाखच भरिँदै गइरहेका छन् ।

बढ्दो जनघनत्व, लाखौँको संख्यामा चल्ने अव्यवस्थित यातायातका साधन र यिनले गर्ने प्रदूषण र धुले सडकहरुका कारण काठमाडौँको वातावरण सधैँ जस्तो धुमिल हुनुका साथै यहाँका नदीनालाहरु अति नै प्रदूषित र दुर्गन्धित भएका छन् भने यहाँ पानीको हाहाकार मच्चिनुका साथै तापक्रममा पनि बढोत्तरी हुँदै गएको छ । उपत्यकाको हरियालीमा दिनानुदिन कमी आउँदै गएको छ र यहाँको मौसमी वातावरण नै बदलिँदै गएको छ । केही समय अघिसम्म ठण्डी हावाको बाहुल्य भएको यो उपत्यकामा आजकल गर्मी निकै बढेको छ भने पंखा समेत नचाहिने ठाउँहरुलाई वातानुकूलित गर्नुपर्ने परिस्थिति आइसकेको छ । आजकल त काठमाडौँमा तराईमा झैँ लिच्ची र आँप समेत फल्ने भइसके हावामा गर्मी बढेसँगै ।

हिमाली क्षेत्रमा प्रकृतिले मनसुनको बेला बंगालको खाडीबाट पानीका भयङ्कर बाफहरु उडाएर प्रचुर मात्रामा हिउँ र पानी पार्ने तथा हिमालमा रगडिँदै चिसो हावाको प्रवाह चारैतिरका हरिया फाँट तथा उपत्यकाहरुमा पुर्याउने हुँदा हिमालको काखमा अवस्थित भूभागहरुको मौसमलाई सर्वोत्कृष्ट मानिँदै आएको छ । तर कप वा बाउलको आकारको काठमाडौँ उपत्यकालाई सफा र स्वच्छ राख्न हावाको सानो झोँकाले कत्ति पुग्दैन । काठ्माडौँको धुलो, धुवाँ र उष्ण तापक्रमलाई कम गर्न झरीको समयमा यानी आषाढ-श्रावण महिनामा अविरल वर्षा भएपछि मात्र केही दिनको लागि ठण्डी महसुस हुन्छ र यहाँका खोलानालामा अरुबेला भन्दा सफा र धेरै पानी बग्छन्, आकाश र वातावरण पनि स्वच्छ देखिन्छ । त्यस्तै चैत्रको ठूलै हुरी बतास अर्थात् चैते हुरीको बलियो झोँका काठ्माडौँ हुँदै पश्चिमबाट पूर्वी दिशातिर केही चोटि हुइँकिएपछि भने काठमाडौँ निकै हदसम्म छ्याङ्ग हुन्छ । अनि मात्र हिमाल र नीलो आकाश देखिने तथा नयाँ वर्ष लाग्न थालेको आभास हुन थाल्छ काठमाडौँवासीलाई ।

हुरी–बतास चल्ने यो समयतिर आगजनीका घटना पनि निकै हुन्छन् । तराई तथा समथर इलाकामा त हुरी–बतासका कारण बिजुलीका लट्ठाहरु नै ठाउँठाउँमा ढलेर तारहरु छरपस्ट भइदिन्छन् र निकै दिनसम्म विना बिजुली जीवनयापन गर्नुपर्ने हुन्छ । त्यस्तै घरका छानाहरु नै उडाइदिने, सुकाउन राखेका कपडाहरु हराउने तथा विभिन्न प्रकारका दुर्घटनाहरु समेत हुन सक्छन् । अविरल वर्षाले पनि एकातिर पानी नपाएर छट्पटिएका सुख्खा क्षेत्रहरुलाई सिँचेर हराभरा बनाउन मद्दत गर्छ भने अर्कोतर्फ कैयन् ठाउँहरुमा बाढी तथा पहिरोका कारण जनजीवन र मुलुकको अर्थतन्त्र नै निकै प्रभावित हुन पुग्छ । त्यसैले अक्सर वर्षा हुने र हुरी–बतास चल्ने बेलाहरुभन्दा पहिलेदेखि नै सम्भावित दुर्घटना हुन नदिन सबै किसिमका तयारीहरु व्यक्तिगत र सामुदायिक स्तरमा नै हुनु नितान्त जरुरी छ ।

तर यसपालि एक हप्तादेखिको कोरोना लकडाउनले गर्दा काठमाडौँ मात्र नभई पूरै मुलुक र अझै भन्नै पर्दा पूरै भारतवर्षमा नै यातायातका साधन नगण्य चलेको र वायु प्रदूषण हुने कुनै पनि प्रकारका क्रियाकलाप हुन नपाएको कारण यो क्षेत्रको वातावरण नै स्वच्छ हुन पुगेको छ । लकडाउनको कारण पर्यावरणमा सकारात्मक सुधार हुनु भनेको एउटा आपतकालीन बन्दोबस्तीको अवस्था मात्र भएकाले र यो नितान्त अस्थायी उपाय मात्र भएकाले यसबाट स्थायी समाधान निस्कने कुनै आधार छैन । बरु यो लकडाउनले ल्याएको वातावरणीय सुधारबाट केही कुरा सिकेर भविश्यको लागी केही नयाँ उपायहरु अवलम्बन गर्न सके सिंगै समाजले केही हदसम्म राहत महसुस गर्न पाउने थियो भने काठमाडौँवासीले पनि भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ को धुन गुन्गुनाउँदै मुसुक्क हाँस्न पाउने थिए ।

लेखक विकास अर्थशास्त्री हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्