Logo

सिकिस्त भएर अस्पताल पुग्दा मृत्यु हुने धेरै



बाँके, बैशाख १९ । नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखायो । त्यतिबेलासम्म भेरी अस्पतालमा खासै भिडभाड थिएन र पनि उनी होम आईसोलेशनमै बस्ने निधो गरे । जब उनको स्वास्थ्यमा गम्भिर समस्या देखा पर्न थाल्यो, उनी अस्पतालमा भर्ना हुन खोजे ।

तर, उनले समयमै बेड पाएनन् । ‘भर्ना गराउन खोज्दा बेडको लागि पालो पर्खिनुपर्ने अवस्था आयो, पालो पर्खिदा उहाँको स्वास्थ्य अवस्था झन् बिग्रिदै गयो,’ उनका आफन्तले भने । कोरोना पोजेटिभ भएको ९ दिनपछि मात्र उनी भेरी अस्पतालमा भर्ना भए । उनी अस्पताल भर्ना हुँदा सिकिस्त भइसकेका थिए । स्वास्थ्यकर्मीले उनलाई बचाउन अनेक प्रयास गर्दा पनि शुक्रबार दिउँसो साढे १२ बजेतिर मृत्यु भयो ।

नेपालगन्ज–४ का ६० वर्षीय पुरुषलाई बैशाख ६ गते नै कोरोना पोजेटिभ भइसकेको थियो । सुरुमा स्वास्थ्य अवस्था सामान्य देखिएपछि परिवारका सदस्यले होम आईसोलेशनमै राखेर राम्रोसँग रेखदेख गर्ने सल्लाह गरे । संक्रमितको चाप अत्यधिक रहेको अस्पतालमा भन्दा बिरामीले घरमै राम्रो स्याहार पाउने परिवारको बुझाई थियो । जब बिरामीलाई क्रमशः समस्या थपिदै गयो, परिवारले अस्पतालमा भर्ना गर्न खोजे ।

तर, सबै बेड भरि भराउ भएका कारण समयमा भर्ना गराउन पाएनन् । उता बिरामीको स्वास्थ्य अवस्था दिन प्रतिदिन झन् कमजोर बन्दै गयो । होम आईसोलेशन बसेको ९ दिनपछि उनलाई भेरी अस्पतालमा लगेर भर्ना गरियो । त्यतिबेला सम्म उनी सिकिस्त भइसकेका थिए । तरपनि अक्सिजन निरन्तर दिएर स्वास्थ्यकर्मीले उनलाई बचाउने कोसिस गरिरहे । स्वास्थ्यमा कत्तिपनि सुधार नआएपछि सोही दिन राती मृत्यु भयो । ‘समयमै अस्पताल पुर्‍याएको भए उहाँ बाँच्नुहुन्थ्यो, होम आईसोलेशनमा धेरै समयसम्म राख्दा उहाँको स्वास्थ्य अवस्था कमजोर भयो,’ मृतकका आफन्त भन्छन् ।

नेपालगन्ज–५ का ५५ वर्षका पुरुषको स्वास्थ्य अवस्था सुरुमा सामान्य देखिएका कारण परिवारले अस्पताल लैजान हतार गरेनन् । उनलाई यही बैशाख १० गते कोरोना पोजेटिभ देखिएको थियो । एकातिर संक्रमितको स्वास्थ्य अवस्था सामान्य, अर्कोतिर कोरोनालाई सामान्य रुपमा लिँदा होम आईसोलेशनमै राखेर रेखदेख गरे ।

जब स्वास्थ्य अवस्था कमजोर बन्दै गयो, संक्रमितको शरिरमा अक्सिजनको मात्रा घट्दै गयो, त्यसपछि परिवारका सदस्य आत्तिए । संक्रमितलाई मुस्किलले बैशाख १५ गते भेरी अस्पतालमा लगेर भर्ना गराए । त्यतिबेलासम्म संक्रमितको शरिरमा अक्सिजनको मात्रा कम भइसकेको थियो । सिकिस्त अवस्थामा रहेका उनको भर्ना भएको भोलीपल्टै मृत्यु भयो ।

यि त प्रतिनिधी मुलक केही घटना मात्र हुन् । नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा यस्ता थुप्रै संक्रमितको दिनहुँ मृत्यु भइरहेको छ । मृत्यु हुनेमा अधिकांश होम आईसोलेशनमै सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा पुगेका ब्यक्ति हुन् । कोरोना पोजेटिभ भएपनि सुरुमा स्वास्थ्य अवस्था सामान्य हुने र होम आईसोलेशनमा बसेर सिकिस्त भएपछि मात्र अन्तिममा अस्पताल पुर्‍याउँदा उनीहरुको मृत्यु हुने गरेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्