काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नियुक्त गर्न पत्रसहित ४२ जना सांसद पुगे । उनीहरुले मुख्यमन्त्री नियुक्त शंकर पोखरेललाई रोक्ने निर्णय तत्काल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अल्टिमेटम समेत दिएका छन् ।
प्रदेश प्रमुख यादवले सोच्ने समय दिन भनेपछि उनीहरुले २ घन्टा कुर्ने जवाफ दिए । त्यसपछि सांसदहरु हलमा बस्न गए । सपथ ग्रहणस्थलको हलमा उनीहरु पुगेका हुन् ।
कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन निवेदन हाली हस्ताक्षर गर्नेहरुमा काँग्रेसका १९, माओवादी केन्द्रका १७, एमालेबाट माओवादी प्रवेश गरेकी सांसद बिमला वली, जसपाका २, जनमोर्चाका १ का अलावा सुर्य चिन्हबाट स्वतन्त्र समूहका तर्फबाट चुनाव लडेका २ सांसद छन् ।
निवेदनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम केसीलाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरिएको छ । उक्त धाराको उपधारामा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने भनिएको छ ।





प्रतिक्रिया