Logo

खाद्य कम्पनीको गहुँ खरीद कार्य प्रभावित



काठमाडौं, बैशाख २० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गहुँ खरीद कार्य प्रभावित भएको छ । हाल कतिपय जिल्लामा निषेधाज्ञा र केही ठाउँमा सरकारले तोकेको समर्थन मूल्यभन्दा बजार मूल्य बढी भएकाले गहुँ खरीद कार्य प्रभावित भएको हो ।

कम्पनीले यस वर्ष १५ करोड ५८ लाख रुपैयाँ विनियोजन गर्दै ५ हजार मेट्रिकटन गहुँ खरीद गर्ने लक्ष्यसहित बर्दियाको राजापुर र कैलालीको धनगढीबाट खरीद थालेको थियो । हाल ती जिल्लामा निषेधाज्ञा रहेकाले खरीदमा समस्या भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । त्यसैगरी नेपालगञ्जमा कम्पनीका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि खरीद शुरू हुन सकेको छैन ।

यसबाहेक जनकपुर, विराटनगर, वीरगञ्ज, लहान लगायत स्थानमा कम्पनीले उपलब्ध गराएको मूल्यभन्दा बजार मूल्य बढी भएकाले किसानले कम्पनीलाई गहुँ नबेचेर व्यापारीलाई बेच्ने गरेका छन् । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ११ रुपैयाँ तोकेको छ । सरकारले तोकेको समर्थन मूल्यभन्दा बजार मूल्य बढी हुनुले किसान फाइदामा छन्, जुन सकारात्मक पक्ष भएको कम्पनीले बताएको छ । महामारीको प्रकोप सामान्य हुनासाथ कम्पनीले गहुँ खरीद अघि बढाउने सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

कम्पनीले हालसम्म राजापुर र धनगढीबाट करीब ९ हजार ५ सय क्वीन्टल गहुँ खरीद गरिसकेको छ । महामारीका कारण खरीद केही समयका लागि रोक्नुपरे पनि कम्पनीको खरीद केन्द्रसम्म आएर वा फोनमार्फत किसानले गहुँ बेच्न नाम टिपाउने काम भइरहेको बताइएको छ ।

अहिले नाम टिपाएका किसानको गहुँ अवस्था सामान्य भएसँगै खरीद गरिने कम्पनीको राजापुर खरीद केन्द्रका प्रमुख धर्मराज पन्तले बताए । राजापुरमा १० हजार क्वीन्टल खरीदको जिम्मेवारी पाएको भए पनि भण्डारण क्षमताको अभावले लक्ष्य अनुसार खरीद गर्न नसकिने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्